झापा। केपी शर्मा ओली नेतृत्वको बर्तमान सरकारले भ्रष्टचार नियन्त्रण र शान्ति सुरक्षा कायम राख्न असफल भएको नेपाली काँग्रेसले आरोप लगाएको छ। नेपाली काँग्रेसले सरकार बिरुद्ध आज देश ब्यापी रुपमा सम्पन्न गरेको बिरोध सभा अन्तरगत झापामा सम्पन्न सभालाई सम्बोधन गर्दै काँग्रेस नेताहरुले सरकारले काम भन्दा बढी गफ मात्र गरेको बताएका छन्।
सदरमुकाम चन्द्रगढीमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै सभाकी प्रमुख अतिथि तथा राष्ट्रिय सभामा काँग्रेस प्रमुख सचेतक सरिता प्रसाईले सरकारी रबैया जनबिरोधी भएको बताइन्। प्रसाईले भनिन्–“तलदेखी माथीसम्म देश पुरै भ्रष्टचारमा डुबेको छ तर पनि सरकार कुनै कदम चाल्दैन।” आम जनताको ढाड सेकाउने गरी मनपरी ढंगबाट कर असुली भईरहेको र जनतालाई राहतका नाममा केही गर्न नसकेकाले सरकार असफल भएको काँग्रेस केन्द्रीय सदस्य समेत रहनु भएकी प्रसाईले बताइन्।
कार्यक्रममा बोल्दै संघीय सांसद महेन्द्राकुमारी सुब्बाले जनताको बलमा स्थापित सरकारले जनतालाई नै बिश्वासघात गरेको आरोप लगाइन्। जनताले दिगो सरकारका लागि नेकपालाई मत दिए तर नेकपाको सरकार दुईतिहाईको दभ्भले अन्धो भएको सांसद सुब्बाले बताइन्।
जिल्लाका अगुवा काँग्रेस कार्यकताको उपस्थिति रहेको बिरोध कार्यक्रममा प्रदेश सांसद ओमप्रकाश सरावगी, काँग्रेस जिल्ला उपसभापति राम कट्टेल लगायतले सरकारले लोकतन्त्रमाथी प्रहार गरे काँग्रेसले त्यसको प्रतिकार गर्ने बताएका थिए।
काँग्रेस जिल्ला सभापति उद्धब थापाको सभापतित्वमा सम्पन्न बिरोध सभा पछि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र समेत काँग्रेस झापाले बुझाएको छ। काँग्रेस जिल्ला सभापति थापा, राष्ट्रिय सभा सांसद प्रसाई, संविधान सभा सदस्य उषा गुरुङ लगायतका नेताहरुले झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञापन पत्र बुझाईएको थियो।