ओलीको जस्तै दम्भ सुशील कोइरालाले राखेको भए संविधान बन्दैनथ्यो : गगन थापा
'माओवादीलाई पेलेर जाने एमालेको सुझाव नमान्दा उसले ताली पायो काँग्रेसले गाली'
प्रकाशित २०७५ माघ २१ सोमबार
478
Shares
काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले अहिले केपी ओलीले जस्तै सुशील कोइरालाले पनि दम्भ देखाएको भए संविधान बन्न नसक्ने दाबी गरेका छन् । सरकार विरुद्धको सोमबार जारी देशव्यापी आन्दोलनको क्रममा कास्कीमा भेला भएका काँग्रेसका नेता एवं कार्यकर्ताहरुलाई सम्बोधन गर्दै एमालेले काँग्रेसलाई हुत्तिहारा भनेर गाली गर्दा पनि आफ्नो जिम्मेवारीबाट नभागेकोले नै देशले संविधान पाएको दाबी गरे ।
उनले त्यतिबेला एमालेले दुई तिहाई भएर पनि काँग्रेसले खुट्टा कमाएको भन्दै काँग्रेस खुट्टा टेक्नै सक्दैन समेत भन्दा पनि काँग्रेसले माओवादीलाई पनि मनाएरै संविधान जारी गर्नुपर्छ भनेर आफ्नो जिम्मेवारी पूरा गरेकोले सुशील कोइराला नेतृत्वको सरकारले संविधान दिन सफल भएको थापाको भनाई छ ।
‘त्यतिबेला एमालेले ताली पायो, काँग्रेसले गाली पायो । यदि काँग्रेसले गालीबाट बच्नको लागि दुई तिहाईका बलमा संविधान जारी गरेको भए यतिबेला माओवादी सडकमा नै हुन्थ्यो’ नेता थापाले भने ‘तर हाम्रा सभापति सुशील कोइरालामा अहिलेका प्रधानमन्त्री केपी ओलीको जस्तो दम्भ थिएन । त्यसैले सबैलाई मिलाएर अधिकतम सहमतिमा संविधान जारी गरियो ।’
चुनाव अघि राजनीतिक अनिश्चितताकोबीच काँग्रेसले मात्रै संविधान बनाउँछौं भनेर २०७० सालमा गरेको बाचा पूरा गरेरै छाडेको थापाको भनाई छ । उनले संविधान बनाउनको लागि पनि पोखराबासीले काँग्रेस उम्मेदवारलाई जिताईदिएर संविधान निर्माणको सफलतामा एउटा हिस्सा बनेको धारणा थापाले राखेका छन् ।
तर, अहिले विकासको नारा भजाएर आएको नेकपाले भटाभट जनविरोधी र तानाशाही प्रवृत्तिलाई प्रोत्साहन गर्दै गएको आरोप समेत लगाएका छन् ।