चन्द्र भण्डारीको गुल्मीमा छपक्कै काँग्रेसी, सरकारलाई चेतावनी
प्रकाशित २०७५ माघ २१ सोमबार
643
Shares
काठमाडौं । काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीको गृहजिल्ला गुल्मीमा चारतारे काँग्रेस पार्टीको झण्डा र विभिन्न भातृ संस्थाको झण्डा बोकेका नेता तथा कार्यकर्ताहरुले गुल्मीको तम्घासलाई छपक्कै छोपेका छन् । सरकारको विरोधमा उर्लिएका यी काँग्रेस कार्यकर्ताहरुले प्रतिपक्षलाई वास्तै नगरी मनलाग्दी रुपमा काम गर्दै हिँडेको भन्दै सरकारलाई मर्यादामा रहन चेतावनी दिएका छन् ।
नेपाली काँग्रेसले सोमबार दिउँसो देशैभर शक्ति प्रदर्शन गर्ने कार्यतालिका अनुरुप गुल्मीको तम्घासमा काँग्रेसले विशाल प्रदर्शन गरेको छ । हातका काँग्रेसको झण्डा र व्यानर बोकेका कार्यकर्ताहरुले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिपक्षीलाई देख्नै नचाहने र देशमा सुशासन कायम गर्न नसकेको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका छन् ।
उनीहरुले सरकारले सुरक्षा दिन नसकेकोसहित मर्यादामै नबसेको लगायतका १६ वटा आरोप लगाउँदै काँग्रेसले शक्ति प्रदर्शन गर्न लागेको हो। सदरमुकाम तम्घासमा भएको यो प्रदर्शन पार्टी कार्यालय विपि स्मृति भवनबाट सुरुगरी बजार परिक्रमा गरिएको थियो । सो र्याली तम्घासको बालमन्दिरमा आएर कोणसभामा परिणत भएको छ । ७७ वटै जिल्लामा छुट्टाछुट्टै विरोध सभा गर्नका लागि सबै केन्द्रीय सदस्यहरु विभिन्न जिल्लामा गएका छन् ।
काँग्रेसले यसपटक काठमाडौं उपत्यकामा पनि छुट्टाछुट्टै कार्यक्रम गर्ने भएको छ । यसअघि काठमाडौं उपत्यकामा एक ठाउँमा मात्रै कार्यक्रम हुँदै आएको थियो ।
के के हुन् १६ वटा मुद्दा ?
काँग्रेसले १६ वटा मुद्दालाई सोमबारको विरोध सभामा उठाउँदै छ । उसले समसामयिक विषयका मुद्दा नै उठाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसका आफ्ना मुद्दा नै छैनन् भनी ब्यङ्ग्य कस्दै आएका छन्।
यही सेरोफेरोमा काँग्रेसले १६ मुद्दा उठाएको हो । ती मुद्दाहरु यस्ता छन्–
१, सरकारको अधिनायकवादको विरोध
२, संसदीय सर्वोच्चता कायम गर्न माग
३, सरकारको भ्रष्टाचार
४, राज्य आतंक बन्द गर्न माग
५, संसदीय मर्यादा पालना गर्न माग
६, हत्याहिंसा बन्द गर्न माग
७, वाइडबडी भ्रष्टाचारीलाई कार्वाही गर्न माग
८, निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाही माग
९, डा गोविन्द केसीसंग भएका सम्झौता पूरा गर्न माग
१०, चर्को मुल्यवृद्धि फिर्ता गर्न माग
११, तेत्तीस किलो सुनकाण्डका गिरोहलाई कार्वाही गर्न माग
१२, अनियमित बुढीगण्डकी ठेक्का बदर गर्न माग
१३, सुशासन कायम गर्न माग
१४, विधिको शासनको पूर्ण पालना गर्न माग
१५, होलीवाइनको सन्दर्भ जोडेर परम्परा तोडेको आरोप
१६, राज्य संचालन पारदर्शी गर्न माग ।