राष्ट्रपतिबाट शपथ लिने पहिलो नेपाली राजदूत बने नीलाम्बर आचार्य
प्रकाशित २०७५ माघ २० आइतबार
906
Shares
काठमाडौं। गणतन्त्र भारतका लागि नवनियुक्त राजदूत नीलाम्बर आचार्य नेपालको राष्ट्रपतिबाट शपथ लिने पहिलो नेपाली राजदूत बनेका छन्। आचार्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियुक्त गरी आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त राजदूत पद तथा गोपनीयताको शपथ गराइन्।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनलाई उक्त पदमा नियुक्त गरेकी हुन्। मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार राष्ट्राध्यक्षबाट राजदूत आचार्यले शपथ लिएका हुन्। नेपालको इतिहासमा राष्ट्र प्रमुखबाट राजदूतलाई पहिलोपटक शपथ गराइएको हो।
समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीको उपस्थिति थियो।