२ हजार उपसचिवलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गरिदै
प्रकाशित २०७५ माघ २० आइतबार
247
Shares
काठमाडौं। सरकारले आइतबारदेखि करिब २ हजार उपसचिवलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गर्दैछ। ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’अनुसार अनलाइन फाराम भरेका उपसचिव तहका कर्मचारीलाई आइतबारदेखी समायोजनको पत्र दिइने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए।
फाराम भर्दा प्रयोग गरेको इमेल र राहदानीको आधारमा मन्त्रालयको वेबसाइटबाट उपसचिवले आफनो समायोजनको पत्र आफै प्रिन्ट गर्न सकिने व्यवस्था मिलाइएको छ। सरकारले तीनै तहमा समायोजनका गर्नका लागि गएको पुस ११ गतेदेखि माघ २ गतेसम्म अनलाइन फाराम भर्न समयसीमा तोकेको थियो।
करीब दुई हजार उपसचिव तीनै तहमा समायोजन हुदैछन्। यसअघि सरकारले पहिलो चरणमा सचिवलाई समायोजन गरिसकेको छ। उपसचिवको समायोजन सकिएपछि शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारीलाई समायोजन गरिने बताए।
सहसचिवको समायोजनको लागि स्वीकृत गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा पत्र पठाइएको छ। सरकारले आउने फागुन ३ गतेसम्म अनलाइन आवेदनको आधारमा सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य लिएको छ। सरकारले सङ्घमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५सय ३ कर्मचारी समायोजन गर्दैछ।