arrow

माघ ११ पछि नेकपाभित्र नियमित भूकम्पको परकम्प, खतरा मुलुकलाई नै 

logo
प्रकाशित २०७५ माघ २० आइतबार
oli-prachanda.jpg

काठमाडौं । भेनेजुएलाको बारेमा प्रतिक्रिया दिएर अमेरिकालाई चेतावनी दिएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अहिले दिनहुँजसो भूकम्पको परकम्प आइरहेको छ । 

भेनेजुएलाको निर्वाचित सरकारलाई अमेरिकाले हस्तक्षेप गरेको भनी नेकपाका आधा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति जारी गरेपछि माघ ११ गते ठूलै भुइँचालो गयो । 

यसको देश विदेशमा हंगामा भयो । प्रचण्डले ललितपुरको आफ्नो आलिशान भवनबाट विज्ञप्ति जारी गरे । विदेश (स्वीटजरल्याण्ड) रहेका प्रधानमन्त्री एवं नेकपाका आधा अध्यक्ष केपी शर्मा ओलीलाई पनि चिन्ता पर्यो । 

ओलीले अमेरिकासंग सम्बन्ध बनाउन खोज्दै थिए प्रचण्डको त्यो विज्ञप्तिले तुसारापात ल्याइदियो । 

माघ ११ पछि दिनानुदिन झड्का लागिरहेको छ । अमेरिकाले पनि नेपाललाई हेर्ने नजरमा फरकपन ल्याएको छ । नेपालस्थित अमेरिकी दूतावासले सरकारको जवाफ माग्यो । 

सरकारले गोलमटोल तर प्रचण्डको विज्ञप्तिको ढाकछोप गर्ने हिसाबले जवाफ पठायो । अमेरिका सन्तुष्ट हुन सकेन । 

भरपाई गर्न लञ्च मिटिङ
सरकारले अमेरिकालाई फकाउन अनेक प्रपञ्च गरिरहेको छ । काठमाडौंमा रहेका कूटनीतिक समुदायलाई शुक्रबार देशको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले बायाँ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र दायाँ अर्थमन्त्री डा युवराज खतिवडालाई राखेर कार्यक्रम पनि गरे । 

तर त्यसबाट पनि अमेरिकालाई खासै फरक परेन । अमेरिकी राजदूत र्‍यान्डी बेरीको नै उपस्थिति नभएपछि प्रधानमन्त्रीको सरकारी कार्यालय छाडेर फकाउने नाममा अन्नपूर्ण होटलमा गरेको नेपाली जनताको खर्च पनि खेर गयो । 

प्रचण्डले अमेरिकी व्यवहारबारे विज्ञप्ति निकाले त्यसयता अमेरिकी दवाव थेगिनसक्नुको भएको छ । दुई तिहाइ बहुमतको सरकारको दम्भमा रहेको नेकपाले बाँसको टुप्पोमा फिस्टे चरोले चचहुइँ भन्दै बाँसै नुघाएँ भनेजसरी विश्वकै दम्भ देखाउन खोज्नु नै अहिलेको कारक तत्व बनेके छ । 

दम्भ जाती हो । तर अनावश्यक कुरामा दम्भ देखाउनु महाखती हो । प्रचण्डले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठको लहलहैमा लागेर विज्ञप्ति निकाले । अहिले त्यसको असर सिंगो मुलुकलाई परेको छ । 

भेनेजुएलाबारे नेपालले बोलेर नचाहिएको संकट निम्त्याउन खोजेको विष्लेषण गर्न थालिएको छ । नेपालका आफ्ना मुद्दा धेरै छन् । त्यसमाथि छिमेकसंगको सम्बन्ध आफ्नो ठाउँमा छँदैछ । तर निकै टाढाको भेनेजुएलाबारे बोलेर नेकपाले देशलाई नै घात गरेको जस्तो भयो । 

नेकपा र प्रचण्ड हैसियत छचल्कियो 
यो विज्ञप्तिले नेकपा र प्रचण्डको हैसियत देखिएको छ । यसको सबैभन्दा गतिलो उदाहरण प्रचण्डले सडकमा आफ्ना कार्यकर्ता तताउन पहिले पहिले भारतविरुद्ध बोल्ने भाषण जस्तो भयो । 

दिल्ली सरकारले साथ दिँदा निकै गुणगान गाउने प्रचण्डले जब दिल्लीले आफूलाई अलि टाढा राख्न खोज्छ तब खुवै राष्ट्रवादी बन्दै सडकमा उर्लन्थे । 

एकातिर उर्लने र अर्कातिर लैनचौरमा आतिथ्य ग्रहण गर्न गएर उनले आफ्ना कार्यकर्तालाई मुर्ख बनाइरहेका हुन्थे । 

सम्भवतः प्रचण्ड सोचले त्यहाँ भन्दा माथि सोचेन । सोचेको भए माघ ११ पछि अहिलेसम्म धेरै पटक आफ्ना भाषण स्पष्टिकरण दिइसक्ने थिए । 

प्रचण्ड रनभुल्लमा छन् । छाँगाबाट खसेजस्ता भएका छन् । नेपाली राजनीतिमा नसोची आक्रामक भएर बोल्ने बानी परेको व्यक्तिले विदेशी कुटनीतिका बारेमा बोल्दा पटकपटक सोच्नुपर्ने थियो । 

सरकारले भनौं वा पार्टीले महंगामहंगा विज्ञहरुलाई भर्ती गरेको छ । उनीहरुबाट कुनै परामर्श लिन समेत नखोज्ने प्रचण्डले माफी मागेर अमेरिकालाई सान्त पार्न खोज्छन् वा भाषिक गल्ती पर्न गएकामा भनेर अर्को विज्ञप्ति निकाल्लान् त ? 

तर यत्ति हो प्रचण्डले गरेको गल्तीको असर सिंगो मुलुकलाई पर्न भएन । यहाँ कुटनीतिक रुपले नेपाललाई नै असर पर्न सक्ने देखिएको छ । यसबारे यति जनताको पार्टी हो भने बेलैमा नेकपाले सुधार गरोस् र पछिल्लो समय बढ्दै गएको असमझदारीलाई मिलाउने काम गरोस् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ