arrow

नेपालका सिमसार क्षेत्रहरू जलवायु परिवर्तनको जोखिममा

नेपालका १० वटा सिमसार क्षेत्र रामसारको सूचिमा

logo
प्रकाशित २०७५ माघ १९ शनिबार
simsara.jpg

काठमाडौं। विश्व सिमसार दिवस’यस वर्ष सिमसार तथा जलवायु परिवर्तन’भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष फेब्रुअरी २ का दिन मनाइने यो दिवसमा यसपाली जलवायु परिवर्तनले सिमसारमा पारेको प्रभाव र चुनौतिका बारेमा छलफल गरी मनाइदैछ। 

यस वर्षको सिमसार दिवस वन तथा वातावरण मन्त्रालयले गण्डकी प्रदेशको वन मन्त्रालय, पोखरा महानगरपालिकालगायत सरोकारवाला निकायको समन्वयमा पोखराकाबिभिन्न तालको सरसफाई गरी विविध कार्यक्रमका साथ भव्य रूपमा मनाउँदैछ। वातावरणीय सन्तुलनका लागि सिमसारको महत्वपूर्ण भूमिका रहेको भन्दै सन् १९७१ देखि फेबु्रवरी २ तारिखमा यो दिवस मनाउन थालिएको हो। नेपालले भने १९९१ देखि मात्र यो दिवस मनाउदै आएको छ।

विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले रामसार महासन्धि १९७१ मा इरानको रामसार भन्ने शहरमा भएको थियो। रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरीलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन शुरु गरिएको हो।

सन् १७ डिसेम्बर १९८७ का दिन नेपालले कोशी टप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर १७ अप्रिल १९८८ देखि रामसार महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको हो।

राष्ट्रिय सिमसार नीति, २०६९ ले सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापन गरी सिमसारजन्य स्रोतको दीगो तथा बुद्धिमत्तापूर्ण उपयोग गर्ने लक्ष्य लिएको छ। नेपालको संविधान ०७२ को धारा ५१ (६) मा देशमा वातावरणीय सन्तुलनका लागि आवश्यक भूभागमा वन क्षेत्र कायम राख्ने जस्ता प्रावधान राखिएका छन्।

त्यस्तै, संविधानको अनुसूची ५ मा संघको अधिकारको सूचिअन्तर्गत बुँदा २७ मा राष्ट्रिय तथा अन्तराष्ट्रिय वातावरण व्यवस्थापन, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा सिमसार क्षेत्र, राष्ट्रिय वन नीति र कार्बन सेवाबारे उल्लेख छ।

सिमसार के हो ? 
सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्र हो। यसले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्ने भएकाले नै वन तथा वातावरण मन्त्रालयले सिमसार क्षेत्रको संरक्षण कार्यलाई प्राथमिकतामा राखेको छ।

जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिकस्थलको रूपमा रहेको सिमसारले मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ। सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलले बताए।

सिमसार संरक्षण तथा पर्यटन विकासमा सिमसारले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। पर्यटकका लागि पौडी खेल्ने, डुङ्गा चलाउनेदेखि सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकनलगायतका प्राकृतिक सौन्दर्यताको अनुभव सिमसारले नै उपलब्ध गराउने उनले बताए।

सिमसारको अत्याधिक उपयोग, भूमि अतिक्रमण, मिचाहा प्रजाति आदिले सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको मन्त्रालयका जलवायु परिवर्तन व्यवस्थापन महाशाखाको प्रमुख डा महेश्वर ढकालले बताए। जलवायु परिवर्तनका साथै विभिन्न कारणले माटो झरेर पुरिने, पानी सुक्ने तथा अन्य मिचाहा प्रजातिको झारका कारण सिमसार क्षेत्र घट्दो क्रममा छ। 

नेपालले विश्व तापक्रम वृद्धिका लागि खासै भूमिका नखेले पनि त्यसको प्रत्यक्ष असरबाट प्रताडित भइरहेका बेला नेपालले आफू लगायतका उच्च हिमाली देशको समस्या विश्वव्यापीकरण गर्ने बेला भएको जलवायु परिवर्तन विज्ञ मञ्जित ढकालको धारणा छ।

नेपालका सिमसार क्षेत्रहरू जलवायु परिवर्तनको जोखिममा रहेका छन्। कोशी टप्पुदेखि रारातालसम्म विश्व रामसार सूचीमा नौ वटा सिमसार क्षेत्रहरु सूचीकृत भइसकेका छन्। सूचीकृत भएका सिमसारहरू संरक्षित र वन क्षेत्रभित्र हुँदा खासै अतिक्रमणको चपेटमा नपरे पनि सार्वजनिक क्षेत्रमा रहेका सिमसार एकातिर अतिक्रमण र अर्कोतिर जलवायु परिवर्तनको जोखिममा परिरहेकाले तीनै तहका सरकारले साझा एजेन्डा बनाएर संरक्षण गर्ने कार्य अघि बढेको ढकालको भनाइ छ।

नेपालका १० वटा सिमसार क्षेत्र रामसार सूचिमा
रामसार महासन्धिले अन्तर्रा्ष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील संकटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्दछ। हालसम्म यसमा आबद्ध देशको संख्या १७० पुगेको छ। साथै दुई हजार ३१४ सिमसार रामसारको सूचीमा सूचीकृत छन्। नेपालका १० वटा सिमसार क्षेत्र रामसार सूचिमा छन्। विश्वमा अहिलेसम्म १ सय ६९ देशका २ हजार २ सय २५ सिमसार क्षेत्र रामसार सूचिमा सुचिकृत छन्। विश्वको ९ प्रतिशत र नेपालको ५.५७ प्रतिशत क्षेत्र सिमसारमा पर्दछ। 

यसैबीच, चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरेर ५८ वटा तालतलैया छन्। त्यसैगरी पोखराका नौ वटा ताल रामसारको सुचीमा राखेर बिशेष अभियानका साथ कार्यक्रम गरिदैछ। रामसार सूचीमा नेपालका कोशीटप्पु वन्यजन्तु आरक्ष, घोडाघोडी ताल, जगदीशपुर जलाशय, बीसहजारी ताल समूह, राराताल, फोक्सुण्डो ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल समूह, माईपोखरी र पोखराका ताल गरी जम्मा १० सिमसार सूचीकृत छन्। यी सिमसार क्षेत्रले ओगटेको कूल क्षेत्रफल ६० हजार ५६१ हेक्टर रहेको विभागको तथ्यांक छ।

विभागका अनुसार नेपालको करीब पाँच प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ। नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्रा्ष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र छन्। विश्व संरक्षण सङ्घ नेपालको १९९८ को अभिलेखअनुसार नेपालमा १६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन्। सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, किटपतङ्ग र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान हो। 

विभागको तथ्यांकअनुसार नेपालमा पाइने १७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन्। नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये १९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिको वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित रहेको विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए। त्यस्तै २४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा आश्रित छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ