arrow

तराईको लाइफलाइनमा काठमाडौंको ध्यान किन पुग्दैन ?

logo
संजीव बिक्रम शाह
प्रकाशित २०७५ माघ १८ शुक्रबार
cold-at-terai.png

राजविराज । नेपाल र भारतको साझेदारीमा निर्माणाधीन हुलाकी राजमार्गको काम सुरु भएको १३ वर्ष पुगिसक्यो । सो योजना निमार्णको लागि भारत सरकारले हालसम्म १८ अर्व २० करोड नेपाली रुपैयाँ पनि हस्तान्तरण गरिसकेको छ तर हुलाकी राजमार्गको निर्माण सम्पन्न हुने कुनै छाँटकाँट देखिदैन । सरकारी निकाय, ठेकेदार र स्थानीय प्रशासनकोे लापरवाहीले राजमार्ग निर्माणको कार्य निकै सुस्त गतिमा काम भइरहेको छ । 

पूर्वदेखि पश्चिमसम्म एक हजार सात सय ९२ किलोमिटर लामो हुलाकी सडक बनाउने योजना छ । तर, राजमार्गको धेरै स्थानमा कालोपत्रे गर्ने कुरा त परै जाओस्, माटो हाल्ने काम पनि कछुवाको चालमा भइरहेको छ । 

नेपाल सरकारले यसतर्फ कुनै किसिमको ध्यान नदिँदा ठेकेदार कम्पनीहरुले मनमानी तरिकाले काम गरिरहेका छन् । 

अहिले पनि धेरै स्थानमा पुल निर्माणको काम अधुरो अवस्थामा छाडिएको छ । लामो समयदेखि चर्चामा रहेको हुलाकी सडक अन्तर्गत सप्तरी सदरमुकाम राजविराजदेखि मोरङको सदरमुकाम विराटनगर हँुदै झापा जिल्ला सदरमुकाम भद्रपुरसम्म चार पांग्रे सवारी साधन चल्ने अवस्था अहिले पनि छैन । 

सप्तरीमा पुल निर्माणको काम मात्र भइरहेको छ भने झापामा पुलसँगै उत्तर दक्षिण जोड्ने सहायक सडक कालोपत्रे गर्ने काम भइरहेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापा, मोरङ जिल्लामा ४८–४८ किलोमिटर, सुनसरीमा ३० किलोमिटर र सप्तरीमा ४६ किलोमिटिर हुलाकी सडक छ ।

यी जिल्ला अन्तर्गत पर्ने झापामा हुलाकी राजमार्गलाई जोड्ने सहायक राजमार्ग चारआली केचना ४० किलोमिटर, मोरङमा कानेपोखरी रंगेली २५ किलोमिटिर र सप्तरीमा कल्याणपुर बर्सइन हुँदै स्वर्णपट्टीसम्म  १८ किलोमिटर सहायक राजमार्ग रहेका छन् ।

यस वर्ष पुल र सहायक राजमार्ग मात्र निर्माण
हुलाकी राजमार्गको अन्य आयोजना कार्यालयहरुले ठेक्का समेत लगाउन समेत सकेको छैन । हुलाकी राजमार्ग आयोजना इटहरीका अनुसार सप्तरी, सुनसरी, मोरङ र झापा जिल्ला जोड्ने हुलाकी राजमार्गमा यो वर्ष सप्तरी ४६ किलो मिटर र झापाको २० किलोमिटरमा  मात्र काम भएको छ । 

हुलाकी राजमार्ग आयोजनाका प्रमुख   विजय महतोका अनुसार सरकारले चालू आर्थिक वर्षका लागि ३८ करोड रुपैयाँ निकासा गरेको थियो । 

जसमा हुलाकी राजमार्ग अन्तर्गत सप्तरीमा अहिले २ करोडदेखि माथिका साना ठूला गरी १३ वटा पुलको निर्माण भइरहेको छ । 

पुल निर्माणबाहेक अन्य कामको १५ प्रतिशत प्रगति भएको छ । त्यसैगरी झापा जिल्लामा ३३ करोड लागतमा मेची नदीमा पुलसहित १२ वटा पुल निर्माणका चरणमा छन् । 

सोही जिल्लामा चारआली केचना सडक ४० किलोमिटिर सहायक सडकमा कालोपत्रेको काम भइरहेको छ । यसवाहेक अन्य प्रगति योग्य काम हुलाकी राजमार्गको हुनसकेको छैन । 

हुलाकी राजमार्ग के हो ?
पूर्व पश्चिम लोकमार्गको समानान्तर सीमा हुँदै करिब २० देखि ३० किमी दक्षिणतर्फ भएर फैलिएको सडक नै हुलाकी राजमार्ग हो ।
राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिंड्ने छोटो बाटो जसलाई पदम शमशेरले आगाडि बढाएकाले पदम रोड पनि भनिन्छ । यो तराई मधेसका जिल्लाहरू जोड्ने पहुँचमार्ग पनि हो । यो राजमार्ग पूर्व पश्चिम ९ सय ७५ किमी फैलिएको छ ।

पूर्व पश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने ८ सय १७ किमीको ३२ वटा सहायक राजमार्गहरू छन् । यी सबै जोड्दा हुलाकी राजमार्गको लम्बाइ १ हजार ७ सय ९२ किमी पुग्छ ।

भारतका तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणको क्रममा हुलाकी राजमार्ग निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । भारतीय सहयोगको सैद्धान्तिक सहमति चाहिं २०६१ सालमा भएको थियो ।

२०६२–०६३ को परिवर्तनपछि भारत सरकारले नेपाल सरकारबाट छनौट भएका १ हजार ४ सय ४० किलोमिटर सडकहरूको डिजाइन सुपरीवेक्षण र निर्माण तीन चरणमा गर्नेगरी सम्पन्न गरियो । 

सो बापत लाग्ने सम्पूर्ण खर्च भारत सरकारले व्यहोर्ने र जग्गा अधिग्रहण, पोल, रुखहरू हटाउने, हुलाकी राजमार्गमा पर्ने सम्पूर्ण पुलहरूको निर्माण नेपालले गर्ने प्रावधानसहितको समझदारी भएको थियो ।

तर विविध राजनैतिक उतारचढावका कारणले हुलाकी सड्क निर्माणको बीचमै काम रोकिएको थियो । नेपालले गरेको रेखांकनअनुसार हुलाकी राजमार्गको लम्बाइ पूर्वदेखि पश्चिमसम्म एक हजार सात सय ९२.४२ किलोमिटर छ । 

यसमध्ये प्रथम चरणको काम लगभग ३३ प्रतिशत हो, जुन अझै अलपत्र छ । दोस्रो चरणको ६६ प्रतिशत निर्माण अन्यौलमा छ । एक हजार सात सय ९२.४२ किलोमिटरमा हालसम्म ६७.८४ किलोमिटर मात्र कालोपत्रे भएको छ । 

आयोजनाको अध्ययन अनुसार बाँकी सडकखण्ड माटो स्तरमै छ । कतिपय ठाउँमा सडकको आधारभूत संरचना पनि छैन । पूर्व–पश्चिम राजमार्गको निर्माण भएपछि यो राजमार्ग झनै ओझेलमा प-यो । तर, पछिल्लो एक दशक यता यो राजमार्ग निर्माणको क्रममा छ । यद्यपी निर्माण कार्य सन्तोषजनक छैन । 

जुन गतिमा काम हुनुपर्ने हो हुुनसकेको छैन । भारत सरकारले २७ जुन २००६ मा हुलाकी सडक निर्माणका लागि नेपाल सरकारसँग विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । 

१५ जनवरी २०१० मा सडक निर्माणको कार्यान्वयनका लागि अर्काे सम्झौता भयो यो दुई देशकाबीच । त्यसपछि भारत सरकारले यो सडकका लागि अहिलेसम्म रु १ हजार ८ सय २० करोड रकम सहयोग गरेको भारतीय अधिकारीहरुले बताएका छन् । 

तराईमा निराशा
नेपालमा भारतका प्रधानमन्त्री, मन्त्रीहरूको भ्रमणका क्रममा हुलाकी राजमार्गको चर्चा बढी नै हुने गर्दछ । त्यस लगत्तै यो चर्चा सेलाउँछ । नेपालले मात्र हैन भारतले पनि यसको निर्माणमा चासो राख्ने गर्छ । तर, यतिका वर्ष वितिसक्दा राजमार्ग निर्माणको गतिले भने स्थानीयवासीमा निराशा पैदा हुन थालेको छ ।

हुलाकी राजमार्ग आसपास क्षेत्रका स्थानीयले समग्र तराईका जिल्लाहरुको विकासको ‘लाइफ लाइन’ का रुपमा रहेको हुलाकी राजमार्गको निर्माण सुस्त हुँदा सरकारप्रति उनीहरुले आक्रोश बढ्दै गएको देखिन्छ ।

‘पुरानो हुलाकी राजमार्ग जस्ताको त्यस्तै छ, पछि सुरु भएको पूर्व पश्चिम राजमार्ग उहिल्यै सम्पन्न भइसक्यो’ सप्तरीका किशोरकुमार यादवले भने ‘मधेसको बस्ती हुलाकी राजमार्ग वरपर नै छ । तर सडक छैन किन सरकारले यति विभेद गर्दैछ मधेसका जनतालाई ?’ हुलाकी राजमार्ग बनिसकेपछि तराई जनतामा समृद्धि आउने देखिएपछि नियतबश सडकको कामलाई ढिला गरिहेको उनको आरोप छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ