डा केसीको २३ दिनको भोको शरीरमाथि सरकार ताना बुन्दैछ
प्रधानमन्त्री भन्छन् – ‘डाक्टरहरु आजकल बिरामी जाँच्दैनन् अनसन बस्छन्’
प्रकाशित २०७५ माघ १७ बिहिबार
400
Shares
काठमाडौं । सत्याग्रही डा गोविन्द केसीले आमरण अनसन बसेको बिहीबार २३ दिन भइसकेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले गत साउनमा २७ दिनमा मात्र अनसन तोडाएको थियो ।
यसपटक सरकारले अहिलेसम्म अनसनबारे बोलेकै छैन । अनावश्यक अनसन बसेको भनेर अनावश्यक तानामात्र बुनेको छ ।
डा केसीको स्वास्थ्य निकै खस्केको छ । केसी पुस २५ देखि आमरण अनसनमा छन् । त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा केसीलाई कुनै पनि बेला आइसीयुमा लैजानुपर्ने चिकित्सकहरुले बताइरहँदा बोल्न पनि नसक्ने भइसकेका डा केसी मानिरहेका छैनन् ।
उनको छातीमा समस्या देखिएको छ । स्वासप्रश्वासमा कठिन भएको छ । रक्तचाप स्थीर छ । अक्सिजनमा कमी, ग्लुकोज र पोटासियममा कमी देखिएको छ । समग्रमा उनी गम्भीर भइसकेका छन् । आइसीयुमा जान नमानदा समस्या थपिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
उनको मागको सुनुवाइ त परै जावस् सरकारले उनलाई बचाउनेतर्फ पनि कुनै कदम चालेको छैन । प्रधानमन्त्री स्वयंले विभिन्न कार्यक्रममा जाँदै ‘डाक्टरहरु आजकल बिरामी जाँच्दैनन् अनसन बस्छन्’ भनेर ताना मार्ने गरेका छन् ।
आफूले गरेको सहमति तोडेको उनलाई कुनै ग्लानी छैन । बस् उनले आफूले जे गरें त्यो गर्वपूर्ण लागेको छ ।
चिकित्सा शिक्षा विधेयक ल्याउँदा उनको माग र उनीसंग गरेको सहमति विपरीत ल्याइएको छ ।
रिले अनसन जारी
डा केसीको मागमा ऐक्यवद्धता जनाउँदै देशभरमा चिकित्सकले सोमबारदेखि रिले अनसन बसिरहेका छन् ।
दुई दिनका लागि रिले अनसन बसेर सरकारलाई दवाव दिन खोजे पनि सरकारले रिले अनसनलाई बेवास्ता गरेपछि चिकित्सकहरुले रिले अनसनलाई लम्बाउनु परेको नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले बताए ।
उनले भने, ‘सरकारले नसुनुन्जेल हामी रिले अनसन बस्छौं, डा केसीको स्वास्थ्य गम्भीर भयो भने कठोर कदम चाल्न वाध्य हुनेछौं ।’
ऐक्यवद्धता कायमै
डा केसीको मागमा नागरिक समाजले ऐक्यवद्धता जनाउने क्रम जारी छ । बुधबार पूर्व प्रधानन्यायाधीश सुशीला कार्की गइन् । उनले डा केसीका सबै माग जायज भएकाले पूरा गर्न सरकारलाई आग्रह गरिन् ।
उनले डा केसीका माग तीन करोड जनताका भएकाले डा केसीलाई तलमाथि केही हुनासाथ तीन करोड नेपाली नै आन्दोलित हुने बताइन् । राजनीतिक जे भए पनि कोही पनि डा केसीलाई गलत भन्न नसक्ने पूर्वप्रधानन्यायाधीश कार्कीको दाबी छ ।
मंगलबार पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ डा केसीलाई भेट्न अनसनस्थल गएका थिए । उनले मन्तब्यमा डा केसीलाई बचाउनु पर्ने र उनका माग पूरा गर्नुपर्नेमा जोड दिएका थिए ।
नागरिक समाजबाट व्याप्त दबाब भए पनि सरकारले डा केसीका बारेमा ध्यान दिएको छैन ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद नै अवरोध गरेको छ । काँग्रेसले बिहीबार पनि संसद अवरुद्ध गर्ने जनाएको छ । त्यस्तै काँग्रेसका भ्रातृ संगठनहरु निरन्तर सडकमा छन् ।
त्यसैगरी विवेकशील नेपाली दलले पनि डा केसीको माग पूरा गर्न दवाव दिँदै सामूहिक गिरफ्तारी समेत दिएको थियो ।
जतिसुकै दवाव भए पनि केपी शर्मा ओली गलेका छैनन् । उनलाई एक डाक्टरको महत्व कति छ राम्रोसंग थाहा छ । बिरामीलाई कति पीडा हुन्छ भनेर बुझेका छन् । विदेशमा गएर उपचार गराउने आफै भएकाले पनि गुणस्तरीय शिक्षा कत्तिको महत्वपूर्ण छ भनेर बुझेका छन् । तर नबुझेझैं गरिरहेका छन् ।
विपक्षी दलका नेताहरुको आरोप जस्तै साँच्चै ओलीलाई मार्सी चामलको भातकै श्राप लागेको त हैन होला ? होइन भने बिरामी जाँच्नुपर्ने डाक्टरहरुलाई अनसन बस्न किन वाध्य पार्दैछन् ?