नेकपा प्रमुख सचेतक भन्छन् –‘उठाउनै नमिल्ने मागहरु उठाउँदै हिँड्ने हो भने संसदको औचित्य के रह्यो ?’
के दुई तिहाई भएपछि जनताका कुरा सुनिँदैनन् ? काँग्रेसले पो यो संसदीय व्यवस्था फ्लप पार्न खोज्यो ?
प्रकाशित २०७५ माघ १७ बिहिबार
681
Shares
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रतिपक्षीका मागहरु पूरा भइसकेकाले संसद अवरुद्ध नहुने विश्वास ब्यक्त गरेका छन् ।
मन्त्रीपरियाद बैठकले काँग्रेसका दुई पूर्व सभापतिहरुको नाममा रहेको अस्पताल केन्द्रीय सरकार मातहतमै रहने निर्णय भएकाले माग पूरा भएको दावी गर्दै गुरुङले बिहीबार संसद अवरुद्ध नहुने विश्वास गरेका हुन् ।
काँग्रेसले दुई वटा मुद्दा उठाएको र ती मुद्दाको समाधान भएको गुरुङको दावी छ । अर्को मुद्दाका रुपमा डा गोविन्द केसीका माग हुन् । गुरुङको बुझाइमा डा गोविन्द केसीको माग अनुसार नै चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको हो ।
संसद र प्रणालीको औचित्य के रह्यो ?
डा केसी २३ दिनदेखि आमरण अनसनमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारसंग गत साउनमा १५ औं अनसन तोड्ने क्रममा डा केसीसंग सहमति भएको थियो ।
त्यही सहमति पूरा गर्न डा केसी १६ औं पटक आमरण अनसनमा बसेका हुन् ।
तर सरकारले माग पूरा भइसक्यो भनिरहेको छ । गुरुङ भने कसैको हतियार बनेर डा केसी अहिले अनसनमा बसेको दावी गर्छन् ।
‘उठाउनै नमिल्ने मागहरु उठाउँदै हिँड्ने हो भने संसदको औचित्य के रह्यो । जनताले जिताएर पठाएका सांसदले बहुमतले पारित गरेको विधेयकलाई गलत भन्ने ?’ गुरुङले भने ।
एउटा मुद्दा संवोधन भएपछि संसद अवरुद्ध गर्न खोज्नु गलत भएको नेता गुरुङले बताएका छन् । त्यसैगरी गुरुङले एक डाक्टरको हिसाबले उठाउन मिल्ने मुद्दाहरु सबै पूरा भएको दावी गरे ।
काँग्रेसले पो यो संसदीय व्यवस्था फ्लप पार्न खोज्यो ?
नेता गुरुङले संसद पटक पटक अवरोध गर्न खोज्नुको मतलव कतै संसदीय व्यवस्था फ्लप पार्न खोजेको त हैन भनी टिप्पणी गरेका छन् ।
निरन्तरको अवरोधले गलत प्रक्रिया बस्ने भन्दै गुरुङले सिस्टममाथिको प्रहार सहन नसक्ने बताए ।
तत्कालीन माओवादीले संसदीय प्रणाली नमान्ने भन्दै सशस्त्र द्धन्द्ध गरेको थियो । अहिले त्यही पार्टी सत्तामा छ । उसले संसदीय प्रणाली अहिलेसम्म मान्दिन नै भन्छ ।
सभामुख कृष्णबहादुर महराले संसदमा खेलेको भूमिका पनि शंकास्पद छ । कतै काँग्रेसका माग पनि पूरा नगर्ने र त्यसलाई बहाना बनाएर जवरजस्ती अगाडि बढ्ने र ‘कू’ को प्रयास हुने त हैन भन्ने शंका पनि बढेको छ ।
के दुई तिहाई भएपछि जनताका कुरा सुनिँदैनन् ?
डा केसी १६ औं चरणको अनसनमा छन् । १५ पटकसम्म पटक पटक सरकारले सहमति गर्यो तर माग पूरा गरेन । अहिले पनि उनका माग पूरा भएका छैनन् ।
उनी एक सत्याग्रही हुन् । उनका माग गलत भएका भए अहिलेकै सरकारले गत साउनमा सहमति गर्ने थिएन ।
तिनै माग पूरा गर्न १६ औं अनसन बसेका हुन् । तर सरकारले भने माग पूरा भइसकेको भनिसकेको छ ।
सफेद झुठो बोल्दासमेत कुनै ग्लानी सरकारसंगै सत्ताधारी दलका नेताहरुलाई भएको पाइँदैन ।
डा केसीले पछिल्लो पटक कञ्चनपुरकी १३ वर्षे बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई पनि पक्राउ गर्न माग गरेका छन् ।
उनको यो मागलाई सत्ताधारीहरु जायज भन्दैनन् । के एक सभ्य नागरिकको नाताले डा केसीलाई यो माग राख्न पाउने अधिकार छैन ?
के दुई तिहाईको सरकार भएपछि जनताका कुरा सुनिँदैनन् ?