श्रीमतीको हत्या गरेर कारागार चलान भएकै दिन युवकले गरे आत्महत्या
प्रकाशित २०७५ माघ १६ बुधबार
577
Shares
चरिकोट । श्रीमती हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका एक युवकको गएराति जिल्ला कारागार दोलखामा मृत्यु भएको छ ।
कालिञ्चोक गाउँपालिका–५ लापिलाङका २४ वर्षीय च्याङा शेर्पाले गएराति कारागारभित्रै शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताए।
श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले शेर्पालाई गत पुस २० गते पक्राउ गरेको थियो । पक्राउपछि २४ दिन प्रहरी हिरासतमा राखी अनुसन्धानपछि शेर्पालाई मङ्गलबारमात्र अदालत पेश गरिएको थियो ।
अदालतको आदेशपछि शेर्पालाई पुर्पक्षका लागि मङ्गलबार कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक पाठकले बताए। मध्यराति शेर्पा शौचालय गएको र लामो समयसम्म नआएपछि खोजतलास गर्दा झ्यालमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
शेर्पाकी श्रीमती सर्किनीलाई गत पुस १६ गते आफ्नै कोठामा पासो लगाइ मृत अवस्थामा फेला पारिएको थियो ।