९ महिलासहित ३२ जना अधिकारकर्मी बानेश्वरबाट गिरफ्तार
प्रकाशित २०७५ माघ १६ बुधबार
261
Shares
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले सञ्चालन गरेको दोस्रो धर्ना प्रदर्शनबाट प्रहरीले ९ जना महिलासहित ३२ जना अघिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ ।
संसदलाई ढाट्ने मन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्न, वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न मूल दोषीहरुलाई कारबाही गर्न र सत्याग्रही प्रा.डा. गोविन्द केसीसँग सरकारले गरेका पूर्व सहमतिहरु कार्यान्वयन गर्न मागसहित संघीय संसद भवन नयाँ बानेश्वर अगाडि आयोजित धर्ना प्रदर्शनबाट प्रहरीले अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको हो ।
प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु गीता तिमल्सिना, सरस्वती ढकाल, अधिकारकर्मीहरु जयराम पुडासैनी, बटुकृष्ण ढुंगेल, विपी पौडेल, टंक गैरे, ईश्वर पुडासैनी, आर सी भण्डारी, नानीकाजी गिरी, विनोद कुँवर, उमा गौतम, अमृतप्रसाद उपाध्याय, डिगम्बर विक्रम राना, सावित्री गुरुङ, लक्ष्मी राना पुडासैनी, प्रमिला भण्डारी, सुशिला तामाङ, निरु पराजुली, सुरेश मुडवरी, विमला श्रेष्ठ, लाक्पा लामा, भिम बहादुर सुनुवार, छिरिङ, श्रेष्ठ, निशान्त वयलकोटी, रामु थापा, सुमित जिसी, अजय थापा, सुजन पुडासैनीलाई गिरफ्तार गरेको हो । गिरफ्तार गरिएका सबैलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।
धर्नामा अधिकारकर्मीहरुले ढटुवा मन्त्री बर्खास्त गर, जहाज हलुङ्गो : नेता गहु्रङ्गो, सत्याग्रही भोकै छन् : नेपाली जनता रोएका छन्, ठूला नेता मिलेका : साढे चार अरब निलेका, दुई तिहाइ सरकारको उपहार : साढे चार अरव भ्रष्टाचार, डा. केसी सँगको सहमति कार्यान्वयन गर, जहाज खरिद भ्रष्टाचार : मूल दोषीहरुलाई कारबाही गर, लगायतका प्लेकार्ड बोकेका थिए ।
शान्ति समाजद्वारा सञ्चालित ट्ठो अभियानका क्रममा पहिलो धर्ना माघ ८ गते काठमाण्डौँमा सम्पन्न भएको थियो भने उपरोक्त आग्रहहरुमा ध्यानाकर्षण गराउँदै शान्ति समाजका दुई दर्जन जिल्ला शाखाहरुले स्थानीय प्रमुख जिल्ला अधिकारीहरु मार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाइसकेका छन् ।