सरकारद्वारा एकमुष्ठ २८०७ जना राष्ट्रसेवकलाई शहीद घोषणा
प्रकाशित २०७५ माघ १५ मंगलबार
248
Shares
काठमाडौं । सरकारले एकमुष्ठ रुपमा २८०७ जनालाई शहीद घोषणा गरेको छ । मन्त्रिपरिषदले विगतका जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेश आन्दोलनको क्रममा निधन भएका विभिन्न क्षेत्रका राष्ट्र सेवकहरुलाई शहीद घोषणा गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले आफ्नो आधिकारिक ट्वीटरमार्फत् जानकारी दिए ।
अर्यालले लेखेका छन् '१८औं सशस्त्र प्रहरी दिवसका अवसरमा प्रम ओलीले जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेस आन्दोलनका क्रममा मारिएका सशस्त्र प्रहरीप्रति श्रद्धा सुमन अर्पण गर्दै सेना, प्रहरी, सशस्त्र र अनुसन्धान विभागका क्रमश : १०१८, १४४८, ३१८ र २३ जनालाई मन्त्रिपरिषदले शहीद घोषणा गर्ने निर्णय गरेको बताउनु भयो।'
उनले दिएको जानकारी अनुसार शहीद घोषणा हुनेमा नेपाल प्रहरीका सबैभन्दा धेरै १४ सय ४८ जना रहेका छन् । त्यस्तै, नेपाली सेनाका १०१८ जना र सशस्त्र प्रहरीका ३ सय १८ जना लाई शहीद घोषणा गरिएको छ ।
सरकारका अनुसार राष्ट्रिय अनुसन्धान विभागका २३ जनालाई पनि शहीद घोषणा गरिएको छ। सरकारले यी राष्ट्र सेवकहरुलाई शहीद घोषणा गरी यसको जानकारी राजपत्रमा प्रकाशित गर्न समेत भनेको छ ।
बुधबार प्रदेश नं ३ ले शहीद दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । राणा शासनकाल अन्त्य गर्नको लागि आफ्नो बलिदानी दिएका शहीदहरुको स्मृतिमा मनाईने भएपनि पछिल्लो समय जस्तो सुकै घटनामा ज्यान गुमाएकाहरुलाई पनि शहीद घोषणा गरिने भएकोले शहीद शब्दको महत्व नै कम हुन थालेको छ ।