निर्मलाकी आमाको डीएनए म्याचबारे खुलेर बोल्नै चाहँदैनन् प्रहरी
प्रकाशित २०७५ माघ १५ मंगलबार
536
Shares
कन्चनपुर। कन्चनपुरकी बालिका निर्मला पन्तको भनिएको भेजिनल स्वाबको आधिकारितामाथि प्रश्न उठिरहेका बेला प्रहरीले, उनकी आमा दुर्गादेवीको रगतबाट लिइएको डीएनएको अपेक्षित रिपोर्ट सार्वजनिक गरेको छ। अपेक्षित यो अर्थमा कि, प्रहरीले यस्तै रिपोर्ट सार्वजनिक गर्नेछ भन्नेबारे हाम्रा कुराले गत पुस २६ गते नै लेखिसकेको थियो। निर्मला हत्या प्रकरण आमाको डीएनए परीक्षण केका लागि अन्ततः प्रहरीले निर्मलाको भेजिनल स्वाबको डीएनए र दुर्गादेवीको डीएए पुराका पुरा म्याच भएको जनाएको छ।
राष्ट्रिय मानवअधिकार आयोगको विज्ञ सहितको टोलीले समेत स्वाबको आधिकारिकता माथि प्रश्न उठाएपछि, प्रहरीले हतार हतार निर्मलाकी आमाको डीएनए रिपोर्ट आएको र सो डीएनए निर्मलाको स्वाबसँग ठ्याक्कै मिलेको बताएको हो। स्मरणीय के छ भने, निर्मलाको भनिएको भेजिनल स्वाब र आमा दुर्गादेवीको रगतको डीएनए परीक्षण प्रहरीले आफ्नै प्रयोगशालामा परीक्षण गरेको हो।
खुल्न चाहँदैन कञ्चनपुर प्रहरी
कञ्चनपुर प्रहरीले दुर्गादेवीको डीएनए र निर्मलाको भनिएको भेजिनल स्वाबको डीएनए मिलेको बताए लगत्तै हामीले, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सम्पर्क गर्यौं। जिप्रकाका सूचना अधिकृतले रिपोर्ट सार्वजनिकबारे अनभिज्ञता प्रकट गरे। निर्मला हत्याकाण्डका अनुसन्धान अधिकृत हुन् डीएसपी कृष्णराज ओझा। तर उनी बिदामा रहेछन्। उनी बिदामा बसेको बेला उनको जिम्मेवारी डीएसपी मेघबहादुर खत्रीले सम्हालेका रहेछन्।
तैपनि सोधखोज गर्नुपर्यो भनेर फोन लगाउँदा डीएसपी ओझाको मोबाइल स्वीच अफ थियो। जिम्मेवारीमा रहेका डीएसपी खत्रीले डीएनए म्याच भएको मात्रै जवाफ दिए। कतिबेला कसको रोहबरमा खोलियो ? भनेर सोध्दा उनले खास म डीएनएको नमूना हेरेको ठाउँ जिप्रकामा थिएन, आठ नौ बजेतिर खोलेको होला, भने। को थियो त त्यहाँ ? एसपी साँबलाई थाहा छ, उनले भने। एसपी कुबेर कडायतलाई फोन लगाउँदा रिपोर्ट हिजो साँझ आइपुगेको र बिहान त्यही आठ नौ बजेतिर खोलिएको होला भने।
डीएनए म्याच भएको रिपोर्ट चाहिँ मैले हेरेको हो भने। कस्को रोहबरमा खोलियो त भन्दा, उनी झर्किन थाले। “जिल्ला सरकारी वकिल सोकिल पनि चाहिँदैन, त्यो त प्रहरीले नै खोल्ने हो नि किन चाहियो अरुरु पत्रकार सम्मेलन गर्नु पर्ने हो र ? जजसले सोधेका छन् भन्दिने हो। बाँकी सबै कुरा किन चाहियो रु उनले थपे, उनीहरुको चाहना अनुसार चेक गराएका हौं, “रिपोर्ट मिल्यो, सकियो उनले थप नसोधिदिए हुन्थ्यो जस्तो गरे। अनि कति बजे हो त खोलेको रु त्यही आठ नौ बजेतिर उनले भने।
तपाईंले चाहिँ रिपोर्ट हेर्नु भो ? तपाईंकै रोहबरमा खोलिएको हो ? झर्को माने पनि मानिरहून् भनेर फेरी सोधियो। उनले भने मलाई त रिपोर्ट ल्याएर देखाइएको हो, हेरें डीएनए रिपोर्ट मिलेको छ। कस्ले देखायो त? उनले अब इन्सपेक्टर मनिराम भट्टलाई सबै थाहा छ, उसैलाई सोध्न अह्राए। इन्सपेक्टर भट्टलाई सोधियो निर्मलाको भेजिनल स्वाब र उनकी आमाको रगतको डीएनए रिपोर्टबारे सबै तपाईंलाई थाहा छ रे नि भन्दा उनी खित्का छाडेर हाँस्न थाले। उनले भनेः म आज बिहान बाहिर थिएँ।
मलाई केही थाहा छैन, डीएनए म्याच भएको भन्ने चाहिँ मैले पनि न्यूज सुनेर मात्रै थाहा पाएको हुँ। कतिखेर खोलिएको हो, कसले खोलेको हो मलाई थाहा छैन। म यहाँ आएको त्यही डेढ महिना जति भएको हो, यो केसले दिमाग खराबै पारेको छ, उनले उल्टै दुखेसो पोखे। आखिर कस्ले खोल्यो यो रिपोर्ट रु कञ्चनपुर प्रहरीलाई यत्ति सूचना दिन पनि किन कष्ट ? के हो कुरा ?