राजविराज । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीको समूहले सप्तरीको उत्तरी क्षेत्रमा गएराति तीन दर्जन बढी घरमा तोडफोड गरेर क्षति पुर्याएको छ ।
जिल्लाको अग्निसाइर कृष्णासवर र रुपनी गाउँपालिकामा जंगली हात्तीले तीन दर्जन घरमा क्षति गरेको स्थानीय वृजमान तामाङले जानकारी दिए। कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहले रुपनी गाउँपालिका–६ का वीरबहादुर तामाङको घर भत्काउँदा रु ५० हजार मूल्य बराबरको क्षति भएको छ ।
हात्तीले तामाङको घरमा रहेको अन्नपात, फर्निचर र घर पूर्णरूपले क्षति पुर्याएको छ भने गणेशबहादुर मगर, रत्नमाया राई, हरिलाल चौधरी लगायतका दर्जनौँ व्यक्तिको घरमा तोडफोडसमेत गरेको स्थानीयवासीले बताएका छन् ।
छ वटाको समूहमा आएका जङ्ली हात्तीले अग्निसाइर कृष्णा सवरन गाउँपालिका–२ का बलबहादुर राईको एउटा घर पूर्णरुपमा क्षति गरेको तमाङले बताए ।
राईको घर भत्काएर चामल, कोदो, मकै र घरभित्र रहेको भाँडाकुडासहितको सामान नष्ट गर्दा करीब रु एक लाख बराबरको क्षति भएको उनले जानकारी दिए।
जङ्ली हात्तीको समूहले एक हप्ताभित्रमा २८ वटा घरमा क्षति गर्नुको साथै किसानले लगाएको लाखौँ मूल्यका गहुँबालीसमेत नष्ट गरेको गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले बताए ।