arrow

कांग्रेसको अबको विकल्प, जाँगर चलाउने वा रुमाल बोकेर हिँड्ने ?

logo
हाम्राकुरा डेष्क,
प्रकाशित २०७५ माघ १२ शनिबार
congress-nc-party-building.jpg

काठमाडौं। बोल्दा बोल्दै, हेर्दा हेर्दै, कराउँदा कराउँदै, रोक्ने जमर्को गर्दा गर्दै आखिर सत्ता पक्षले पेलेरै चिकित्सा शिक्षा विधेयक बहुमतको आडमा पारित गराएरै छाड्यो। आम लोकले देखेः कांग्रेस हेरेको हेर्‍यै भयो। न तनहुँको गिरिजा प्रसाद कोइराला श्वासपस्वास केन्द्र न बाँकेको सुशिल कोइराला क्यान्सर अस्पताल केन्द्र सरकार माताहत आउने भयो। अर्को आमरण अनशनरत डा. गोविन्द केसीको हुर्मत लिने काम सरकारले गर्‍यो। 

संसदको बहुमतबाट विधेयक पारित गराइएपछि काँग्रेस सभापति शेरबहादुर देउवा र युवा नेता गगन थापाले आगो ओकलेः कांग्रेससँग जोरी खोज्नेहरु सकिन्छन् भनेर। पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले भने “पार्टीका नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताल नामेट गर्ने प्रयास गर्दै सरकारले कांग्रेसलाई द्वन्द्वका लागि खुला आमन्त्रण गर्‍यो”।

चिकित्सा शिक्षा विधेयक बहाना हो। त्यो बहानामा सत्ता पक्ष जित्यो, काँग्रेस हार्‍यो। डा गोविन्द केसी त सहायक कारण हुन्। प्रष्ट छः सीधा निशाना त काँग्रेस हो। उनले बसेको अनसनको श्रृंखलाले देखाउँछ, न उनी कांग्रेसका मान्छे थिए, न कम्यूनिष्टको। तर विचारणीय पक्ष भनेको सरकारको विरोध गर्नका लागि समेत काँग्रेस डा. केसीको फेरो समात्नुपर्ने अवस्थामा पुग्यो।

यहीँनिर छ गाँठी कुराः कांग्रेस रक्षात्मक अवस्थामा कसरी पुग्यो भन्ने। उतिबेलै कांग्रेसले डा. केसीका माग पुरा गरिदिएको भए? जीपी कोइराला र सुशिल कोइराला अस्पताल त्यतिबेलै सरकार मातहतमा ल्याइसकेको भए? काँग्रेसले त्यो बेला अनुमानै गर्न सकेन यो अबस्था पनि आउन सक्ला र भन्ने। थुप्रा गल्ति, थुप्रा कमजोरी गरेको छ कांग्रेसले। प्रेस एलर्जीवाला सरकारका प्रवक्ता संचार तथा सूचनामन्त्री गोकुल बास्कोटाले भने झैं कांग्रेस साँच्चिकै त्यान्द्रो समातेरै हिँड्नुपरेको छ। 

मुलुकमा मुद्दा यत्ति धेरै छन्, कांग्रेस अनदेखा गर्छ। निर्मला पन्तको हत्या प्रकरणमा कांग्रेस मुख बजाउँछ, हत्यारा पत्ता लगाउन सकेन भनेर। तर अपराधी पत्ता लगाउन काँग्रेसले दबाब के दियो ? आम नागरिक सडकमा पोष्टर टाँस्न जाँदा पक्राउ पर्छन्, कांग्रेसका कुनै नेता कार्यकर्ता कता छन्? 

वाइडबडी खरिद प्रकरणमा दुनियाँ ढाँट्दै हिँड्ने मन्त्रीहरु नाक फुलाएर हिँडेका छन्, कांग्रेस कहाँ छ? फौजदारी अभियोग लागेर पनि चुनाव जित्नेहरु सपथ खान्छन्, कुर्लिँदै हिँड्छन्, कांग्रेस कहाँ छ? एउटा मन्त्रीलाई दाइजोको प्रश्न सोध्दा पत्रकारको जागिर जान्छ, प्रेस स्वतन्त्रताको पक्षमा बोल्ने कांग्रेसजन कहाँ छन् ? भूकम्प पिडितलाई एक लाख राहत थप्ने, दीर्घरोगीलाई जीविकोपार्जन निर्वाह भत्ता मासिक पाँच हजार दिने देउवा सरकारको निर्णय एक एक गरी वर्तमान सरकारले हटायो, कांंग्रेस कहाँ थियो ? जनता महंगीको मारमा छन्, दुःख गर्ने किसान तर मोटाउने बिचौलिया छन्, काँग्रेस कहाँ छ? 

शिक्षा र मालपोत कार्यालय सबभन्दा भ्रष्ट छन् भनेर अख्यितारले नै बोलिसक्यो, कांग्रेस कता छ? हुँदाखाँदाका न्यायाधिसको बेन्च खोसिएको छ, कांग्रेसको आवाज कहाँ छ ? सरकारी अस्पतालको हालत गएर हेरुन् कांग्रेस नेताले, नीजि अस्पतालको लुटतन्त्र पनि हेरुन्। समग्रमा काँग्रेस जनतासँग कहाँ जोडिएको छ? किसानको बारीमा गएर हेरुन्, सरकारी शिक्षालय गएर हेरुन्। 

जनताको वास्तविकता हेर्न के कांग्रेससँग जाँगर बाँकी छ ? जाने बुझे अब काँग्रेसको लागि अब अबसर नै अबसर छ। मुद्दा असंख्य छन्। कांग्रेसले अझै पनि थोत्रो मुख बजाएर मात्रै अब हुने वाला केही छैन। मुख बजाउनका लागि हरेक नागरिक छन्, जो कसैलाई अब बोल्नका लागि सिकाउन पर्दैन। अब जरुरी र गरिहाल्नु पर्ने भनेको काम हो। काम, जनताको पक्षमा काम। के त्यो काम जाँगर कांग्रेससँग छ? जाँगर बाँकी छ भने, अबको निर्विकल्प शक्ति काँग्रेस नै हो।

मुख मात्रै बजाउँदै जाने हो भने पनि अर्को विकल्प छ। रुने। अनि आँसु पुछ्न रुमाल साथमै लिएर हिँड्ने। काँग्रेसलाई त आखिर सरकारले द्वन्द्वका लागि खुला आमन्त्रण गरिसकेकै छ त। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ