काठमाडौं । नेपाली काँग्रेसले सदनको साझा नेताको भूमिकाबाट सभामुखले स्वेच्छिक अवकाश लिएको आरोप लगाएको छ । शुक्रबार संसदमा बलजफ्ती रुपमा चिकित्सा शिक्षा विधेयक पारित गरेको विषयमा गम्भीर असहमती जनाउँदै शुक्रबार संसद्मा भएको घटनालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको जनाएको छ ।
संसद सकिएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकार र यसको नेतृत्वले आफूभित्र जतनले राखेको अधिनायकवादी आकांक्षालाई आजको घटनाले खुला उजागर गरेको बताएका छन्। उनले विपक्षी रहित राज्यप्रणाली हुनुपर्छ भन्ने शास्त्रीय विश्वासप्रति उनहरुको निष्ठा कायमै रहेको पुष्टि भएको र सिंगो सदनको साझा नेताको भूमिकाबाट सभामुखले स्वेच्छिक अवकाश लिएको सन्देश गएको समेत बताएका छन् ।
प्रधानमन्त्री स्वयंको अग्रसरतामा डा। केसीसँग भएको सम्झौता कार्यान्वयन नगर्न उहाँ लगायत सरकार, नेकपा र सभामुख समेतको संगठित प्रयत्नको परिणाम स्वरुप प्रधानमन्त्रीप्रतिको नागरिक विश्वासमा गम्भीर ढंगले ह्रास आएको समेत प्रवक्ता शर्माले जानकारी दिए ।
'एकातर्फ शिक्षा र स्वास्थ्य राज्यको जिम्मेवारी भनेर घोषणापत्रमा लेख्ने अर्कातर्फ आफूसँगको बहुमतलाई निश्चित वर्गको हित पक्षपोषणमा अर्पित गरेर सरकारले आफूलाई मत दिने सामान्य नागरिकको भावनामा स्वयं आफै कुठाराघात गरेको छ ।' उनले पत्रकार सम्मेलनमा भने 'बहुमतको अर्थ विवेकको निलम्वन निश्चय नै होइन । तर डा। गोविन्द केसीको मागमा विगतमा आफै सहमति गर्ने, तोड्ने र अनशनको सत्र दिन पुग्दा सम्म संवादको पहल नगरी ‘मरे हुन्छ’ भन्ने निलम्बित विवेकको सन्देश सरकारले प्रवाह गरेको छ ।'
अर्को प्रसंगमा प्रवक्ता शर्माले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल नामेट गर्ने दुष्प्रयास अघि बढाएर सरकारले प्रतिपक्षलाई द्वन्दका लागि खुला आमन्त्रण समेत गरेको प्रतिक्रिया दिए। उनले पत्रकार सम्मेलनमा भने 'नेपाली कांग्रेसका आम साथीहरुसँगै यो मुद्दामा सरोकार राख्ने हुने तमाम देशवासीलाई आवश्यक विमति खुला ढंगले प्रकट गर्न हामी अपील गर्दछौँ । नेपाली कांग्रेस चाडै नै यस बारेमा राष्ट्रव्यापी रुपमा आफ्नो फरक मत प्रस्तुतिको कार्यक्रम सार्वजनिक गर्ने जनाउ दिन चाहन्छ ।'