विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका सवारी साधन सार्वजनिक
निरंजन साह,
प्रकाशित २०७५ माघ ११ शुक्रबार
263
Shares
जनकपुरधाम। प्रदेश नम्बर दुईको राजधानी जनकपुरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले विभिन्न समय र विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका सवारी साधनहरुलाई सार्वजनिक गरेको छ। शुक्रवार आयोजित पत्रकार सम्मलेन मार्फत आवश्यक कागजात दुरुस्त नरहेका भारतीय नम्बरको स्कारपियो १, सफारी १ , बोलेरो १, विभिन्न ब्राण्डका १४ थान मोटरसाईकल र एक टेम्पो सार्वजनिक गरिएका छन ।
सो सवारी साधनहरु चोरी भएका, हराएका वा कागजात दुरुस्त नभई नियन्त्रणमा लिइएको हुँदा सम्बन्धित सवारी धनीहरुले आवश्यक कागजातका साथ प्रक्रिया पुरियाइ सवारी साधन लिएर जान सक्ने प्रहरी निरीक्षक दिपक कुमार साहले पत्रकार सम्मेलनमा बताए ।
शुक्रवारदेखी एक हप्तासम्मका लागि सो सवारी साधनहरुको प्रदर्शनी आयोजना गरिएको र यस अवधी भित्र पनि कागजातसहित मागदाबी गर्न कोही नआएको खण्डमा सो सवारी साधनहरु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइने प्रहरी निरीक्षक साहले बताएका छन ।
पत्रकार सम्मेलनमा बोल्दै साहले चालु आर्थिक बर्षमा यस अघि आवश्यक कारवाहीका लागि भारतीय नम्बर रहेको ट्रक १, स्कारपियो २, कार २ र एक ग्रेडरलाई जलेश्वर भन्सार कार्यालय पठाई सकिएको बताए । प्रहरी निरीक्षक साहले आर्थिक बर्ष २०७५/ ७६ मा नगद २२ हजार १ सय ८२ कारवाही बाट १ करोड ३ लाख ८० हजार २ सय र चालु आर्थिक बर्षमा अहिलेसम्म १२ हजार ४ सय १८ कारवाहीबाट ७७ लाख ६० हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको जानकारी दिएका छन ।
आर्थिक बर्ष २०७४/७५ मा सवारी दूर्घटनामा परि ५६ जनाले र चालु आर्थिक बर्षमा पौष सम्म २९ जनाले धनुषा जिल्लामा ज्यान गुमाउनु परेको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख रहेका छन ।यद्यपी दूर्घटना न्यूनीकरणका लागि धनुषा ट्राफिक निरन्तर चेतनामूलक कार्यक्रम गर्दै आएको हुँदा केही हदसम्म सवारी दूर्घृटनामा कमी आएको प्रहरी निरीक्षक साहले दाबी गरेका छन ।
कात्तिक १२ गतेबाट लागु भएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम पनि प्रभावकारीरुपमा कार्यान्वयन भइरहेको प्रहरी निरीक्षक साहको तर्क थियो ।