विवेकशील नेपालीका अध्यक्षसहित १८ जना प्रहरी नियन्त्रणमा
प्रकाशित २०७५ माघ ११ शुक्रबार
633
Shares
काठमाडौं । डा. गोविन्द केसीको सत्याग्रहमा ऐक्यवद्धता जनाउँदै नयाँ बानेश्वर संसद भवन अगाडि भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । शुक्रवार डा. केसीसँग भएका सम्झौता कार्यान्वयन गर्न दवाव दिने उद्देश्यले विवेकशील नेपालीले गरेको प्रदर्शनमा प्रहरीले नेता तथा सदस्यहरुलाई गिरफ्तार गरेको हो ।
विवेकशील नेपालीका अध्यक्ष उज्वल थापा लगायत शशिविक्रम कार्की, अजिता राई, मिलन पाण्डे, डा. दिनेश प्रसाईं, अम्बिका कार्की, रामजी पन्त, सुजन श्रेष्ठ लगायत १८ जनालाई अहिले नेपाल पुलिस क्लबमा प्रहरी नियन्त्रणमा राखिएको छ।
केन्द्रीय सदस्य रमेश पौड्यालद्वारा जारी विज्ञप्तिमा 'हामी प्रहरी धरपकड र गिरफ्तारीको विरोध गर्दछौं, साथै प्रहरी नियन्त्रणमा राखिएका सबै नेता एवं सदस्यहरुलाई ससम्मान रिहाइको माग गर्दछौं' भनिएको छ। साथै विवेकशील नेपालीले सत्याग्रही डा. गोविन्द केसीसँग भएका सम्झौतालाई अक्षरस: लागू गर्न माग गरेको छ ।
विज्ञप्तिमा, 'वहाँको सत्याग्रहलाई बदनाम गर्न अपराधिक पृष्ठभूमिको सरकारी अनसनकारी खडा गर्ने र मेडिकल माफियाको पक्षमा प्रस्तावित चिकित्सा विधयेकलाई तोडमरोड गर्ने तत्वको मुखुण्डो उतार्नु जरुरी रहेको ब्यहोरा स्पष्ट गर्न चाहान्छौ। यस प्रकरणमा केही साँसदले खेलेको नकारात्मक भुमिकाको आलोकमा ती साँसद, केही मेडिकल माफियाहरु र अपराधिक पृष्ठभूमिका `सरकारी अनशनकारी´ बीचको `नेक्सस´ माथि सत्यतथ्य छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गर्दछौं' उल्लेख छ।