'भारतले दशगजा मै डोजर चलाउदा सरकारले चाल नपाउने राष्ट्रवाद हात्तीको देखाउने दाँत सरह'
स्थलगत रिपोर्ट
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ माघ १० बिहिबार
667
Shares
डोकेबजार, कञ्चनपुर । कञ्चनपुरको डोकेबजारस्थित दशगजासंगै भारतीय पक्षले सहमति बिनै तारबार गर्न नाली खन्दै अग्लो डिल बनाउन सुरु गरेको दोश्रो दिन बिहिवार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पुर्व सांसद दिवानसिंह बिष्टले अनुगमन गरेका छन् ।
सुदुर पश्चिमको ठूलो निकुञ्ज शुक्लाफाँटा वन्यजन्तु आरक्ष- लालझाडी राष्ट्रिय वन हुँदै भारतीय दुधुवा नेशनल पार्कसंग जोड्ने मोहना जैविक मार्गको प्रवेशद्वारका रुपमा रहेको डोकेबजारको सीमावर्ती दुधुवा नेशनल पार्कसंगै रहेको सीमा स्तम्भ नम्बर ७५३/१७१ को दशगजामा एकाएक भारतीय वन बिभागले तारबार र नाली खनेर डिल बनाउन लागे पछि स्थानीय स्तरमा बिरोध सुरु भएको छ ।
अन्तराष्ट्रिय कूटनीति मर्यादा उलंघन गर्दै भारतीय पक्षले वन्यजन्तुको निर्वाध आवागमनमा समेत थुन छेक पुगाउने हर्कत गरिएकोबारे सञ्चार माध्यममा उजागर भए लगत्तै नेपाली काँग्रेस कञ्चनपुरका नेता एवं पुर्व साँसद दिवानसिंह बिष्टले उक्त क्षेत्रको बिहिवार स्थलगत अवलोकन गरेका हुन ।
अनुगमनका क्रममा डोकेबजार-गौरीफन्टा सीमावर्ती क्षेत्रमा पुगेका काग्रेस नेता बिष्टले भने "भारतीय पक्षले उक्त सीमाको अर्को सरोकारवाला नेपालसंग सहमति नै नगरी एकाएक नाली खन्नु गलत र कुटनैतिक मर्यादा बिपरित कार्य हो ।" नेता बिष्टले भने - दुधुवा निकुञ्ज लालझाडी वन हुँदै शुक्लाफाँटा वन्यजन्तु आरक्षसंग जोडेर वन्यजन्तुको सुरक्षीत आवागमनका लागि मोहना जैविक मार्ग बनाउने भन्ने पहल भइरहेका बेला यसरी वन्यजन्तुको आवतजावत रोकिने गरि संरचना बनाउन खोज्नु भारतीय पक्षको गलत हो यसलाई रोक्न नेपाल सरकारले अबिलम्ब पहल थाल्नु पर्छ र आफुले सरकारको ध्यानाकर्षण गराउने काम गर्ने छु ।"
भारतीय पक्षले एकाएक आफुखुशी सहमति बिनै दशगजा नजिकै डोजर चलाएर नाली खनेको स्थान डोके बजार पुगेका नेता बिष्टले पत्रकारहरुसंग भने "यसरी दशगजामै डोजर चलाएर खन्दासम्म घटनास्थलदेखि झन्डै ४ किमिको दुरीमा रहेको मुख्यमन्त्रीको कार्यालयले चाल नपाउनु राष्ट्रवाद हात्तीको देखाउने दाँत सरह भएको देखिएको छ ।"
वन्यजन्तुको नेपाल-भारतका निकुञ्ज र वनहरुमा निर्वाध आवागमन सहज बनाउन महत्वपूर्ण मानिने अर्थ्याइएको मोहना जैविक मार्गको प्रवेश द्वारका रुपमा रहेको मोहना तटिय क्षेत्र डोकेबजारमा खुलेआम भारतीय पक्षले दशगजामै डोजर चलाएको दोस्रो दिनसम्म पनि नेपालका कुनै उच्च अधिकारी र प्रदेशका जनप्रतिनिधिहरु अवलोकनमा पुग्न सकेका छैनन् ।
भारतीय पक्षले एकलौटी रुपमा दशगजा नजिकै डोजर चलाएको बिषयमा सञ्चार माध्यममा बुधबार समाचार प्रकाशन भए पछि बिहीबार भारतले खन्ने काम स्थगित गरेको छ । स्थानीय स्तरबाट उक्त कार्यको निन्दा र बिरोध गरिए पनि नेपाल सरकार र प्रशासनद्वारा समस्या सल्टाउन कुनै पहल नथालिएको स्थानीयहरु बताउछन् ।
प्रदेशको अस्थायी राजधानी धनगढी स्थित मुख्यमन्त्रीको कार्यालय करिव ४ किमिको दुरीमा भारतीय पक्षले दिन दहाडै दशगजामा डोजर चलाउदा सरकार भएको अनुभुती हुन नसकेको स्थानीय बिरबहादुर सिहले बताए !