काँग्रेस केन्द्रीय समिति बस्दै, संसदीय गतिरोधबारे छलफल र रणनीति तय हुने
प्रकाशित २०७५ माघ १० बिहिबार
238
Shares
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएकोछ । विहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सत्तापक्षले संसदमा देखाएको रणनीतिबारे कसरी अघि बढ्ने भन्नेबारे छलफल हुने नेताहरुले बताएका छन् ।
महासमिति बैठकपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठकमा संसदीय गतिरोधसँगै नेविसंघको विषय र पार्टी विधानको विषयमा समेत छलफलमा प्रवेश गरिने पार्टी सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्य पनि उपस्थित हुनेछन् ।
महामन्त्री महतले गत पुस ८ गते सम्पन्न महासमिति बैठकले पारित गरेको पार्टीको विधान मस्यौंदा, राजनीतिक, आर्थिक प्रस्तावलगायतका प्रस्तावलाई पनि अनुमोदन गर्ने समेत जानकारी दिए ।
बिहीबारको बैठकमा अहिले काँग्रेसमा चलेको विधान संशोधनको विषयलाई पनि प्रवेश गराईने उल्लेख छ । महाधिवेशन प्रतिनिधि बन्न केन्द्रीय तहका नेताहरुले पनि बुथबाट निर्वाचित भएर आउनुपर्ने बारेमा प्रमुख नेताहरुले जिल्ला सभापतिलाई दिएको आश्वासन पूरा गर्ने, आफ्नो भातृ संस्थाको वैधानिकताको सकिएको समय लगायतका विषयमा बैठक केन्द्रित हुने बताईएको छ । नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको कार्यकाल गत भदौ २ गतेदेखि सकिएको छ । तर, पार्टीले पटक पटक समय थप्दै बिहीबारसम्मको लागि म्याद थपिसकेको छ ।
महाधिवेशन गर्ने प्रयोजनका लागि पार्टीले पहिलो पटक ३ र दोस्रो पटक २ महिनाको म्याद थपेको थियो त्यो समय पनि माघ २ गते सकिएको थियो । त्यसपछि माघ १० मा बस्ने पार्टी केन्द्रीय कार्यसमितिले निर्णय गर्नेगरी दैनिक कामकाज गर्न समय थपियो । अहिलेसम्म नेविसंघले १८ जिल्लमा अधिवेशन गरेका छ । बाँकी जिल्ला पनि अधिवेशनको तयारीमा छन् । तर पछिल्लो समय नेविसंघमा ठूलो विद्रोह छ ।