arrow

प्रधानमन्त्री ओलीको प्रेससंगको सम्बन्ध कस्तो ? यसरी पढाए प्रेसको पाठ

logo
तीर्थप्रसाद भट्टराई,
प्रकाशित २०७५ माघ १० बिहिबार
kp-oli-switzerland2.jpg

डाभोस । प्रधानमन्त्री केपी शर्मा ओलीले स्विट्जरल्याण्डमा पत्रकारिता र प्रेसको पाठ पढाएका छन् । स्विट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत जारी ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयको सत्रमा उनले प्रेसबारे निकै चर्चा कुरा गरे । 

‘प्रेस’जगतसंगको आफ्नो सम्बन्धबारे सोधिएको एक जिज्ञासाका जवाफमा उनले प्रजातन्त्रमा प्रेससँग सधैँ सामान्य सम्बन्ध रहने र आफ्नो पनि सम्बन्ध सामान्य नै रहेको जानकारी दिँदै भने, “निरङ्कुशतन्त्रमा मात्र शासकको प्रशंसा गर्न प्रेसलाई नियन्त्रण गरिन्छ, लोकतन्त्रमा प्रेसले आलोचना गर्नु सामान्य हो ।” नेपालको संविधानले नै पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभूत गरेको र प्रेस स्वतन्त्र रहेको जानकारी पनि उनले दिए ।
 
उनले पीत पत्रकारिता जनहितमा नरहेको वास्तविकता सुनाउँदै त्यसले बाधा सिर्जना गर्ने र जनतालाई गलत दिशातर्फ उन्मुख गर्ने बताए । प्रजातन्त्रलाई बलियो बनाउन र जनताको जीवनमा समृद्धि ल्याउन तथा उनीहरुलाई सही रुपमा सुसूचित र शिक्षित तुल्याउन प्रेसको भूमिका निकै महत्वपूर्ण हुने बताउँदै उनले नेपाली जनता पनि जिम्मेवारपूर्ण प्रेसका पक्षमा रहेका जानकारी दिए । प्रेसले आफ्नो पनि आलोचना गरेको उनले बताए ।
 
प्रधानमन्त्री ओलीले छोटो अवधिमा धेरै परिवर्तन भएका सन्दर्भमा जनताको आकाङ्क्षा बढेको र नेपाली प्रेसले पनि द्रुत गतिको विकास चाहेको उल्लेख गरे । उनले प्रजातान्त्रिक प्रक्रिया जादु नभएको र कुनै पनि कामको परिणाम प्राप्त गर्न समय लाग्ने यथार्थ स्पष्ट पार्दै प्रेसले पनि नेपालमा शीघ्र नतिजा, स्वच्छता र पारदर्शिताको सुनिश्चितता माग गरेको बताए । 

नेपालमा प्रेस स्वतन्त्रता विरोधी केही कानून बनेको आरोपको खण्डन गर्दै प्रधानमन्त्रीले नेपाल लोकतान्त्रिक मुलुक भएको र प्रजातन्त्रमा निष्ठा र विश्वास रहेको स्पष्ट गरे । प्रजातन्त्रमा सबै कुरा संविधान, कानून र शक्ति पृथक्कीकरणको सिद्धान्तअनुसार हुनुपर्ने मान्यतामा आफू अडिग रहेको बताउँदै उनले भने, “प्रेसलाई नियन्त्रण र सङ्कुचित पार्ने सरकारको कुनै मनशाय छैन ।” 

नेपालमा प्रेस पूर्णतया स्वतन्त्र रहेको र नियन्त्रणको कुनै प्रश्न नभएको बताउँदै उनले स्वतन्त्रताका नाममा कसैले पनि गलत समाचार दिन नहुने, अरुलाई आघात पार्न नहुने र अरुको पारिवारिक जीवन तथा वैयक्तिक जीवन, प्रतिष्ठा र व्यवसायमा आँच पुग्ने गरी समाचार सम्प्रेषण गर्न नहुनेमा जोड दिए । 

लोकतान्त्रिक प्रणाली सञ्चार जगत्मा आबद्धहरूका लागि मात्र नभएको बताउँदै प्रधानमन्त्री ओलीले यो अरुका लागि पनि भएको र स्वतन्त्र प्रेस जिम्मेवारपूर्ण हुनुपर्ने विश्वव्यापी मान्यता भएको बताए । 

उनले जनतालाई शिक्षित र सुसूचित तुल्याउन आफूहरुले चाहेको र प्रेसले सर्वसाधारणको जीवन, प्रतिष्ठा, नाफा– घाटाजस्ता संवेदनशील विषयमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । 

बेलायती पत्रकार तथा ‘फिनान्सियल टाइम्स’का सहसम्पादक तथा प्रमुख आर्थिक टिप्पणीकर्ता मार्टिन उल्फले सञ्चालन गरेको उक्त सत्रमा कोलम्बियाका राष्ट्रपति इभान ड्युक, आर्मेनियाका प्रधानमन्त्री निकोल पासिनयान, अमेरिकी पत्रकार तथा ‘द न्यूयोर्क टाइम्स’का प्रकाशक आर्थर ग्रेग स्लजबर्गर र लिडरसिप नाउ प्रोजेक्टका संस्थापक ड्यानियल बालु आरेसले पनि आआफ्नो धारणा व्यक्त गरेका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ