पहिरो र हिउँले थुनियो कालीगण्डकी, खोल्ने प्रयास जारी
प्रकाशित २०७५ माघ ९ बुधबार
183
Shares
काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकामा पर्ने कालिगण्डकीमा सुख्खा पहिरो र हिउँका कारण कालिगण्डकीको केही भाग थुनिएको छ । विहानै छैरो भन्ने ठाउँमा सुख्खा पहिरो र सल्लाको रुख समेत खसेकोले कालीगण्डकी आंशिक थुनिएको गाउँपालिकाका अध्यक्ष आश बहादुर थकालीले जानकारी दिए ।
उनका अनुसार अहिले डोजर लगेर नदीमा थोपरिएको माटो हटाउने काम भईरहेको छ । अबको एक दुई घण्टामा नै यो पुरानै अवस्थामा फर्किने पनि उनले दाबी गरे । उनले यसले मानव बस्तिलाई केही पनि खतरा नरहेको समेत बताएका छन् । उनले अहिले पहिरो माथि हिउँ थपिएकोले पनि यसमा केही समस्या भएको प्रतिक्रिया दिए ।
अध्यक्ष थकालीले पहिले सुख्खा पहिरो गएको र पछि त्यसैमाथि हिउँ परेकोले आंशिक रुपमा कालीगण्डकी थुनिएको बताए । पहिरोले नदि थुनिएको जानकारी पाए लगत्तै गाउँपालिकाका प्रतिनिधि र सुरक्षा निकायका अधिकारीहरु समेत घटनास्थल पुगेका थिए ।