सरकार विरुद्ध जाग्यो विपक्षी भातृसंस्था : काठमाडौंमा नेविसंघ, विराटनगरमा तरुण दलको विरोध
प्रकाशित २०७५ माघ ९ बुधबार
1k
Shares
काठमाडौं । संसदमा सत्तापक्षले पेलेर जाने रणनीति लिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका भातृ संस्थाहरु सडकमा आएका छन् । दुई तिहाई बहुमतको आडमा सरकारले विपक्षीलाई पेलेर जाने तयारी गरेपछि विपक्षी भातृ संस्थाहरु सडकमा आएका हुन् ।
यसै क्रममा नेपाल तरुण दलले विराटनगरमा र नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । प्रदेश एकको राजधानी विराटनगरमा विरोधमा उत्रिएका तरुण कार्यकर्ताहरुले सरकारले ५ महिनासम्म पनि बलात्कार पछि हत्या गरिएको निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको, डा. गोविन्द केसीको मागप्रति सरकार गैरजिम्मेवार बनेको, प्रमुखप्रतिपक्षीलाई संसदमा पेलेर जाने र आफू भ्रष्टाचारमा लिप्त भएको जस्ता विषयमा सरकारको विरोध गरेको थियो ।
यता, नेविसंघले भने काठमाडौंमा नै विरोध गरेको हो । उनीहरुले सरकार माफियाको चंगुलमा फसेको भन्दै सरकारको चर्को विरोध गरेका छन् । निर्मला पन्तको हत्यारा ५ महिनासम्म पनि पत्ता लगाउन नसकेको, चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनसनरत डा। गोविन्द केसीको माग पूरा नगरेको प्रति उनीहरुले सरकारको विरोध गरेका छन्।
मंगलबार प्रतिनिधि सभामा सत्ता पक्षले जवर्जस्ती संसदीय प्रक्रिया अघि बढाएको भनेर विरोध गरेको काँग्रेसको भातृ संस्था नेविसंघले बुधबार सडकमा विरोध जनाएको हो । मंगलबार नै पनि नेविसंघले नयाँ वानेश्वरमा निषेधित क्षेत्र तोडेर विरोध प्रदर्शन गरेको थियो । नेविसंघले मंगलबार विज्ञप्ती जारी गर्दै डा। केसीको पक्षमा र निर्मला पन्तको बलात्कारको विरोधमा वृहत्त विरोध प्रदर्शन गर्न लागेको जनाएको थियो । अध्यक्ष नैनसिंह महरले देशभरका नेविसंघका नेताहरुलाई सरकार विरोधी प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् ।