काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार घाम लाग्ने सम्भावना कम रहेको बताएको छ । मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको अवस्थामा मौसम खुल्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार यो प्रणाली अहिले पूर्वतिर सरिरहेकाले पूर्वका धेरै ठाउँमा दिनभरी नै पानी पर्नेछ । पश्चिममा पनि मौसम खुल्ने संभावना छैन ।
सोमबार रातिदेखि विभिन्न ठाउँमा वर्षा भएको थियो भने हिमाली भेगमा हिमपात भएको थियो । मंगलबार रातिदेखि भने मुलुकका अधिकांश भागमा वर्षा भएको हो ।
बिहीबार र शुक्रबार यस्तो हुन सक्छ –
माघ १० गते बिहीबार
दिउँसो देशको पश्चिमी भुभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भुभागमा आंशिक बदली रहनेछ । राति देशको पहाडी भुभागमा आंशिक बदली रहि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ।
माघ ११ गते शुक्रबार
दिउँसो देशभर पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा र मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा सामान्यदेखि पूर्ण बदली हुनेछ , पश्चिमी क्षेत्रका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।
राति देशभर सामान्यतया बदली हुनेछ । पश्चिमी क्षेत्रका केही स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।