कञ्चनपुरका विभिन्न स्थानमा सीमा विवाद, नाजुक बन्दै स्तम्भ
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ माघ ८ मंगलबार
264
Shares
महेन्द्रनगर । भारतसँग सीमा नाका जोडिएको कञ्चनपुरका विभिन्न स्थानमा विवाद रहेको सरकारी अधिकारीले बताएका छन् । अधिकारीका अनुसार कञ्चनपुरको पुर्नवासको प्याराताल, गोबिन्द गौतम मारिएको क्षेत्र कारगिलडाँडा अर्थात् आनन्दबजार, बेलौरी र पुर्नवासमा विवाद छ । पुर्नवास नगरपालिका–९ विचफाँटामा रहेको नेपालको प्राकृतिक प्यारातालमा भारतीय पक्षले विवाद गर्दै आएको छ ।
भारतीय पक्षले तालमा रहेका माछा ठेक्का दिने विषयमा आधा हिस्सा लिने गरेको छ । भने गत फागुन २६ गते कल्र्भट निर्माणको विषयलाई लिएर भारतीय पक्षबाट पुर्नवास नगरपालिका ४ आनन्द बजारमा र भीमदत्त नगरपालिका ९ टनकपुर क्षेत्रको जमिन विवादित छ । यस्तै गत माघ दोस्रो साता बेलौरी नगरपालिका १० सडकघाट सडक फराकिलो गर्दा भारतीय पक्षबाट विवाद सिर्जना गरिएको थियो । जसबाट सडक निर्माणको काम रोकिएको छ । भने कार्तिकमा भीमदत्त नगरपालिका ९ ब्रम्हदेब सडकखण्डमा ह्युमपाई विछाउने विषयलाई लिएर भारतीय पक्षबाट अवरोध सिर्जना गरिएको थियो ।
यस्तै (नेपाल–भारत) दुई देशको सीमाना छुट्याउने कञ्चनपुरका ‘सीमा स्तम्भ’को अवस्था नाजुक बन्दै गएको छ । समयमै उचित मर्मत सम्भार हुन नसक्दा सीमा स्तम्भ (सीमा पिलर) को अवस्था नाजुक बन्दै गएको हो । कञ्चनपुरको उत्तर पश्चिम ब्रम्हदेवदेखि पूर्वी दक्षिण डोकेबजारसम्मका सीमा पिलर भत्किने, ढल्ने अवस्थामा पुगेका छन् ।, भने कतै हराएका छन्, त कतै विवदित भइ निर्माण भएका छैनन् ।
डोकेबजार देखि ब्रम्हदेबसम्म १ सय २९.५ किलोमिटर दुरीमा रहेका सीमा पिलर बाहिर र भित्र देखि कमजोर अवस्थामा पुगेका छन् । पिलरको आयु र बाहिरी रुपमा हावापानीका कारण समेत जमिन सँगै सर्पोटका लागि राखिएका ईटा पिलरबाट अलगिदा पिलरको अवस्था नाजुक बनिरहेको हो ।
बनबासा–गड्डाचौकीको एच–०१ सहित ७८ पिल्लर बाहेकको अवस्था सुकेर ढल्लै लागेको रुखको अवस्था जस्तै भएका छन् । केही पिलरको माथिबाटै इटा खुकुका छन्, भने विच विचको भाग र केहीको जमिनको सतहै बाट खसेका छन् । कञ्चनपुरको पुर्नवास नगरपालिका–११ डोकेबजारमा रहेको ७५३ नम्बरको पिलर सहित ९ पिलर मर्मत गर्नुपर्ने देखिएको छ ।
महाकाली नदिले मुख्य १ पिलर ढलाएको र १ पिलर बनाएको छ । चार वर्ष अघि दार्चुलामा गएको वाढिबाट ढलेको भीमदत्त नगरपालिका ९ ब्रम्हदेव खल्लामछेट्टीको १३ नम्बरको पिलर ढलेकै छ, भने महाकाली नदीले बगाएको ८११ नम्बर पिलर अहिलेसम्म फेला परेको छैन् । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार कुल ३ सय ९० सीमा पिलर मध्ये कुल ७ पिलर साबुत अर्थात ठिकै अवस्थामा छन् । २५ मुख्य, ४७ सहायक र ६ सानो पिलर गरि कुल ७८ पिलर मात्रै साबुत अवस्थामा छन् । भने २ सय २२ पिलर निर्माण हुनै बाँकी छन् । मुख्य १६, सहायक ११७, साना पिलर ९ गरि २ सय २ पिलर निर्माण भएका छैनन् । जसमध्ये ३ पानीमा हराएका र १८४ निर्माण नै भएनन् ।
९ पुर्ननिर्माण र ४५ पिलर मर्मत गर्नुपर्ने देखिएको छ । मुख्य ४, सहायक ५ पुर्न निर्माण गर्नुपर्ने र मुख्य १२, सहायक ३२ र १ सानो गरी कुल ४५ पिलर मर्मत गर्नुपर्ने देखिएको छ । अहिलेसम्म ३४ पिलर फेला परेका छैनन् । मुख्य ५, सहायक २१ र साना ८ गरि ३४ पिलर अहिलेसम्म फेला परेका छैनन् । कञ्चनपुरमा ६४ मुख्य, २ सय २२ सहायक, साना १ सय ४ पिलर रहेका छन् ।
स्थानीयले सरकारको वेवास्ताका कारण सीमा पिलर हराएका, गायब भएका र मर्मत हुन नसकेको गुनासो गरेका छन् । सीमा क्षेत्रमा बसोबास गर्ने कञ्चनपुरका स्थानीय करन भण्डारीले सम्बन्धीत निकायको वेवास्ताका कारण दुई देशको सीमा छुट्टाउने स्तम्भको अवस्था नाजुक बनेको बताए ।
‘सीमाका स्तम्भ जोर भारत र बिजोर नेपालले पूर्ननिर्माण गर्नुपर्ने भएपनि सम्बन्धीत मुलुकले चासो दिएका छैनन् ।, ‘उनले भने, ‘कञ्चनपुरको उत्तरी पश्चिम क्षेत्रका पिल्लर महाकालीमा आएको वाढिका कारण ढलेका छन् ।’ कञ्चनपुरका सीमा स्तम्भको अवस्था बारे पटक पटक माथिल्लो निकायमा जानकारी गराएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कञ्चनपुरका अधिकारीले बताएका छन् ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कञ्चनपुरका प्रमुख विनोद राज श्रेष्ठले सीमा स्तम्भको अवस्थाबारे माथिल्लो निकायका साथै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा प्रतिवेदन पेश गरेको बताए । ‘सशस्त्र प्रहरी बल सीमा कार्यालय बाट स्तम्भ पूर्ननिर्माणका लागि माथिल्लो निकायमा प्रतिवेदन पेश गरिसकेको छौँ ।’, उनले भने,‘तर पनि हालसम्म पूर्ननिर्माणका काम हुन सकेको छैन् ।’ उनका अनुसार सीमा र पिलरको सुरक्षाका लागि सशस्त्र प्रहरी बलले साप्ताहिक, मासिक अध्ययनका साथै सीमा क्षेत्रमा नियमित गस्ती गरिएको छ । सीमा सुरक्षाका लागि संयुक्त गस्ती, अनुगमन, पिलरको अवस्थाको अवलोकन गर्ने, संयुक्त बैठक लगायतका काम गरिरहेको छ ।