पाल्पा । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टको दिलमा लोकतन्त्र र प्रजातन्त्र नभएको बताएका छन् । सोमबार नेपाली कांग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले कम्युनिष्टले आफुलाई लोकतन्त्र र प्रजातन्त्रको संज्ञा दिने गरे पनि त्यसको धज्जी उठाउदै आएकाले उनीहरुको दिलमा लोकतन्त्र र प्रजातन्त्र नभएको बताएका हुन् ।
नेपाली कांग्रेसले अंगालेको लोकतन्त्र र प्रजातन्त्रको पक्षमा नेपाली जनताले समर्थन गरे पछि बाध्य भएर कम्यनिष्टले नक्कली लोकतन्त्रको वकालत गरेको उनले आरोप लगाए । नेता पोडेलले हिजो कांग्रेसले लोकतान्त्रीक शासन व्यवस्था अंगाल्दै गर्दा सदनबाटै कम्युनिष्टले खसीको टाउको देखाएर कुकुरको मासु बेचेको भनि आलोचना गरेको स्मरण गर्दै तिनै कम्यनिष्टलेपछि लोकतान्त्रीक बहुदलीय संसदीय प्रणलीमा हस्तारक्षर गरेको बताए ।
उनले भने ‘आयोग कुन पार्टीको हो ? जुन प्रतिपक्ष दललाई बाईपास गरेर कर्मचारी नियुक्ती गरिन्छ, यसरी बहुमत प्राप्त कम्युनिष्ट सरकारले संवैधानिक परिषद्को अधिकारको धज्जी उडाउदै आफ्ना मान्छे नियुक्त गर्नुले लोकतन्त्रको उपहास गरेको छ ।’ पछिल्लो समयमा केही व्यक्तिका कारण राजनितिक क्षेत्रनै फोहोरी हुन पुगेको भन्दै नेता पौडेलले अब राजनितिक दलहरुले यस क्षेत्रलाई सम्मानित क्षेत्र बनाउनु पर्नेमा जोड दिए । उनले देश र पार्टी समस्यामा परेकाले सिद्धान्तको राजनिति आवश्यक रहेको औल्याए । प्रजातन्त्र र समाजवादबाट मात्रा मुलुकको समस्या समधान हुने भन्दै नेता पौडेलले अराजनितिक मुद्दा समातेर अब राजनितिक गर्न नहुने धारण व्यक्त गरे ।