कालीगण्डकी नदीको तल्लो क्षेत्रमा र्याफ्टिङको सफल परिक्षण
बिज्ञ भन्छन् -पर्यटक हुने हो भने दैनिक वोट चलाउन सक्छौ
सीता डोटेल,
प्रकाशित २०७५ माघ ७ सोमबार
364
Shares
पाल्पा । कालीगण्डकी नदीको तल्लो क्षेत्र पाल्पा, स्याङ्गजा, तनहुँ नवलपुर क्षेत्रमा नियमित र्याफ्टिङ्ग सञ्चालनका लागि आइतबार सफल परिक्षण गरिएको छ । रामपुर नगरपालिका सहित कालीगण्डकी उपत्यका क्षेत्रका स्थानीय तह, लामो समयदेखि गण्डकीबेशीको समग्र विकासमा लाग्ने अभियान्ताको पहलमा नेपालका विभिन्न नदीमा लामो समयदेखि र्याफ्टिङ चलाउदै आएका गाइडरहरुले गरेको परिक्षण सफल भएको छ ।
नदीको तल्लो भाग राम्दी देखि देवघाटसम्म नियमित र्याफ्टिङ चलाउन कर्णाली र्याफ्टिङ एण्ड एड्भेन्चरका बिज्ञको टोली ३ खण्डमा परिक्षण गरिरहेका छन् । आइतबार पाल्पा र स्याङ्गजाको धार्मिक क्षेत्र राम्दीबाट शुरु भएको जलयात्रा रामपुर नगरपालिका ८ को पर्यटकीय धार्मिक स्थल भुजात सिद्धबाबा पुगेको हो ।
नदीमा पहिलो पटक आइतवार रामपुर नगरपालिकाको नेतृत्वमा र्याफ्टिङ संभावना परिक्षणका लागि गरिएको र्याफ्टिङमा पाल्पाको रामपुर नगरपालिका, रम्भा गाउँपालिका, स्याङ्गजाको चापाकोट नगरपालिका र तनहुँको घिरिङ्गसुन्धारा गाउँपालिकाका जनप्रतिनिधि, पुर्व राष्ट्रसेवक कर्मचारी सहित राजनितिक दल, पत्रकार, व्यवसायी तथा युवाहरुको सहभागीता रहेको थियो । रामपुर नगरपालिकाको नेतृत्वमा संभावना परीक्षण गरी कालीगण्डकी नदीमा नियमित र्याफ्टिङ सञ्चालनमा ल्याउन परीक्षण गरिएको हो ।
रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षकत्वमा सञ्चालित दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको अबसरमा धार्मिक, ऐतिहासिक तथा भगवान् शालिग्राम पाइने विश्वकै एकमात्र कालीगण्डकी नदीसँग पर्यटनलाई जोड्दै पर्यटक भित्त्रयाउन पहिलो पटक विज्ञहरुको टोलीबाट परीक्षण गरिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताए । नेपाल सरकारले सन् ट्वान्टी–ट्वान्टीमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएकाले यसैलाई आधार बनाएर व्यवसायिक र्याफ्टिङ अगाडी बढाइएको उनले बताए ।
आइतबार राम्दीबाट प्रदेश नम्बर ५का प्रदेश सभा सदस्य विर बहादुर राना, नगर प्रमुख रमण बहादुर थापा र कालीगण्डकी उपत्यका विकास समितिका अध्यक्ष तथा नेपाल सरकारका पुर्व सचिव शान्ता बहादुर श्रेष्ठले एकैसाथ र्याफ्टिङ शुभारम्भ गर्नुगर्दै कालीगण्डकी उपत्यकाको विकासमा र्याफ्टिङले फड्को मार्ने बताए । कालीगण्डकी नदीको राम्दीदेखि देवघाटसम्म नियमित र्याफ्टिङ सञ्चालनको लागि परीक्षण गरिएको हो । जहाँ आइतवार राम्दीदेखि शुरुवात गरि भुजात सिद्धवावा धाम क्षेत्रमा सोमबार सिद्धबाबादेखि पाल्पा–तनहुँ अन्तर्गत पुट्टारसम्म र पुट्टारदेखि देवघाट गरि ३ दिनमा राम्दी–देवघाट मनोरम यात्राको योजना बनाई परीक्षण गरिएको हो । आइतबार स्थानीय तहका प्रतिनिधि सहित उल्लेख्य नागरिकको सहभागीतामा राम्दीबाट शुरु गरि झण्डै ३२ किलोमिटर लामो जलयात्रामा सिद्धबाबा आइपुगेको हो ।
करिव ४ घण्टा ३० मिनेटको लामो समय जलयात्रामा सहभागीहरु धेरै जसो यति लामो समय जलयात्रामा सहभागी भएका थिए । स–सानामा नदीमा काठको डुगा चढेको सम्झदै प्रदेश सभा सदस्य माननीय विर बहादुर रानाले पहिलो पटक वोटमा नदीमा जलयात्राको अनुभव लिएको बताए । उनले भने आनन्द लिन पर्यटकलाई अन्त जान पर्दैन, पर्यटक भित्याउन अरु सोचिराख्नु भन्दा संभावनालाई कार्यान्वयमा बदल्नुपर्ने रहेछ । उनले स्वच्छ कालीनदीको पानी जस्तै मनलाई पनि स्वच्छ बनाउदै नियमित जलयात्रामा यहीलेको पुस्ता लागेर आनन्द लिन आग्रह गरे।
धार्मिक कालीगण्डकी उपत्यका हुदै बहेकी कालीगण्डकी नदीमा धार्मिक पर्यटकलाई जलयात्राको भरपुर आनन्द दिन र्याफ्टिङ सञ्चालन गरिएको पुर्व सचिव तथा कालीगण्डकी उपत्यका विकास समिति अध्यक्ष शान्ताबहादुर श्रेष्ठले बताए । नेपाली पनि रमाउन बाहिर जान पर्दैन । आउनुहोस् कालीगण्डकी नदी तपाईलाई स्वागत छ श्रेष्ठले भन्नुभयो सनातन धर्म संग जोडिएको धार्मिक पुण्य प्राप्त गर्न नदी र नदी किनारमा रहेका शक्तिपिठ हेर्न सक्छौ यसबाट आनन्द र पुण्यप्राप्तको दोहोरो फाइदा लिऔं उनले थपे । कोही नेपाली घुम्न बाहिर जान नपर्ने उहाँको भनाई छ । नदीवारिपारीको भुमिमा प्याराग्लाइडिङ र नदीको र्याफ्टिङले संसारकै रमणीय स्थान कालीगण्डकी उपत्यका बन्ने ढृढ विश्वास छ श्रेष्ठले भने ।
कालीगण्डकी नदीमा नियमित र्यापिटङ सञ्चालन गर्न दर्ता प्रक्रिया लगभग पुरा भइसकेको छ,रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले भन्नुभयो–अब हामी पर्यटन बोर्डबाट स्वीकृत पाएलगत्तै नियमित सञ्चालनमा जानेछौ । र्याफ्टिङ र केही दिन अघि रामपुर ७ र पुर्वखोला १ बाट गरिएको प्याराग्लाइडिङ्गको अनुभवले साच्चिकै प्याराग्लाइडिङ्ग र र्याफ्टिङ दुवै क्षेत्रलाई अगाडी बढाउन सक्छौ भन्ने विश्वास र बिज्ञको सुझाब पाएकोले हौसला जागेको छ थापाले भने ।
नियमित सञ्चालकै लागि र्याफ्टिङको मान्यता पाएको कर्णाली र्याफ्टिङ एण्ड एड्भेन्चर प्रालिको बिज्ञसहितको टोलीले सफल परीक्षण गरेको हो । प्रालिले २ वटा वोट सञ्चालन गरि परीक्षण गरेको हो । कालीगण्डकीको महिमा बढी छ,नदी पनि उत्तिकै मनमोहक छ कर्णाली र्याफ्टिङ एण्ड एड्भेन्चरका सञ्चालक देवराज जैशीले भन्नुभयो–साहसिक यात्रा जलयात्राका लागि कालीगण्डकी उपयुक्त छ । नदी किनारका विभिन्न स्थानमा क्यामफायरदेखि बिभिन्न रमाइलो लिन सकिने जैशीले बताए । स्थानीयहरुको इच्छा र चाहाना हुने हो भने नियमित सेवा दिन केही गाह्रो नहुने उनको भनाई छ । जलयात्रामा जैशी सहित १५ बर्षे अनुभव गाइड मनोज कुमार थापा, कालुराम चौधरी सहभागी थिए ।
बहुउपयोगी कालीगण्डकी नदीको जलयात्रामा रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाको नेतृत्वमा प्रदेश ५ का सांसद विर बहादुर राना, नेपाल सरकारका पुर्व सचिव शान्ता बहादुर श्रेष्ठ,उहाँका धर्मपत्नी चन्द्रकुमारी श्रेष्ठ, रम्भा गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारी, रभ्मा १का वडाध्यक्ष कृष्ण प्रसाद रेग्मी, रामपुर उद्योग वाणिज्य संघका सहभागि थिए ।