सरकारी मर्यादाक्रम निर्धारणप्रति अख्तियारको पनि आपत्ति
प्रकाशित २०७५ माघ ७ सोमबार
205
Shares
काठमाडौं । सरकारले हालै परिमार्जन गरेको मर्यादाक्रमका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आपत्ति जनाएको छ । सोमबार बसेको अख्तियारको बैठकले नेपाल सरकारले हालै जारी गरेको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावहरुको मर्यादाक्रम निर्धारणप्रति यस आयोगको ध्यानाकर्षण गरेको अख्तियारले जनाएको छ ।
संवैधानिक पदाधिकारीले अध्यक्षता गर्नुपर्ने विभिन्न बैठकहरुमा सदस्य रहने पदाधिकारीहरुको मर्यादाक्रम संवैधानिक पदाधिकारीहरूभन्दा माथि रहेको तर संवैधानिक पदाधिकारीहरुको मर्यादाक्रम साविकको भन्दा निकै तल्लो क्रममा रहँदा कार्य सम्पादन प्रक्रिया तथा बैठक सञ्चालनको न्यूनतम् मूल्य मान्यता समेत प्रभावित हुने तर्क अख्तियारको छ ।
अख्तियारले यस्तो अवस्था सिर्जना हुन जाने तथा मनोबलमा समेत असर पर्न जाने हुँदा मर्यादाक्रम निर्धारण गर्दा परम्परा, प्रचलित कानून, पदबाट सम्पादन हुने कार्य र गरिमा समेतलाई आधार मानी संवैधानिक निकायका आयुक्त एवं सदस्यहरुको मर्यादाक्रम साविकको जस्तै संवैधानिक प्रमुखहरुको लगत्तैपछि राख्ने गरी मर्यादाक्रम निर्णयको पुनरावलोकन हुन आयोग नेपाल सरकार समक्ष आग्रह गर्ने निर्णय गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
यस अघि निर्वाचन आयोगले पनि संवैधानिक पदाधिकारीले अध्यक्षता गर्नुपर्ने विभिन्न बैठकहरुमा सदस्य रहने पदाधिकारीहरुको मर्यादाक्रम संवैधानिक पदाधिकारीहरूभन्दा माथि रहेको तर संवैधानिक पदाधिकारीहरुको मर्यादाक्रम साविकको भन्दा निकै तल्लो क्रममा रहँदा कार्य सम्पादन प्रक्रिया तथा बैठक सञ्चालनको न्यूनतम् मूल्य मान्यता समेत प्रभावित हुने भन्दै आपत्ति जनाएको थियो ।