लिच्छवीकालिन घ्याम्पो फोर्ने तथा चाँगुनारायण जात्रा हनुमानढोकामा देखाइदै
प्रकाशित २०७५ माघ ७ सोमबार
713
Shares
काठमाडौं। उपत्यकाको प्राचिन लिच्छवीकालिन घ्याम्पो फोर्ने तथा चाँगुनारायण जात्रा सोमबार हनुमानढोकामा देखाइदैछ। चाँगुनारायणलाई काठमाडौको हनुमानढोकामा दर्शन गराउन ल्याउने क्रममा ठाउँ ठाउँमा पुराना माटोको भाँडा फुटाएर अपसगुन देखाउने परम्परा छ।
बिष्णु नारायणले आफनो स्थान छोडेर जान लागेको भन्दै तान्त्रिकले ठाँउठाँउमा माटोको भाडो फुटाएर रोकेको र यसले अपसगुन देखाएको भन्दै चांगुनारायण हनुमानढोकामा नै बसेको किबंदन्ति रहेकाले यसै परम्परालाई निरन्तरता दिइएको तारीणी मख्खन युवा क्लबका अध्यक्ष राजन महर्जनले बताए।
लिच्छवीकालदेखि सुरु भएको यो घ्याम्पो फोर्ने जात्रा पहिला पहिला चाँगुनारायण, भक्तपुर, ठिमी, कोटेश्वर, तिनकुने, भोटाहिटी, असन इन्द्रचोक, तिनधारा पाठशाला हनुमानढोका लगायतका स्थानमा माटाका पुराना भाडाकुडा फुटाएर मनाइन्थ्यो।
तर आजकल यो जात्राका लागि बजेट नभएकाले स्थानीय तारीणी युवा क्लबको आयोजनामा ३ दशकदेखि हनुमानढोकामा मात्रै फुटाउने क्रम जारी रहेको पनि महर्जनले बताए। यो जात्रा दिउसो ४ बजेपछि सुरु हुनेछ।
पौष शुक्ल पुर्णिमाका दिन चाँगुनारायण, सरस्वती र लक्ष्मीको प्रतिक स्वरुप चाँगुबाट ल्याइएका तीनवटा चाँदीको कलशलाई जमलको पाटीमा ल्याएर राख्ने र त्यस स्थानमा बिशेष पुजा गरी राज खड्ग र जंग गुल्मको पल्टनले हर्षोल्लासका साथ जात्रा गरी मखन पशुपति मन्दिरमा पुरयाइन्छ।
चाँगुबाट हनुमानढोकामा कलश ल्याउने क्रममा
यी कलशको जात्रा गर्ने क्रममा जमलबाट कमलाक्षी असन, केलटोल, इन्द्रचोक मखन हुदै हनुमानढोका महेन्द्रेश्वर महादेब अर्थात मखन पशुपति मन्दिर अगाडी थुपारेर राखेको माटाका भाँडाकुँडा फुटाएर अपसगुन देखाउने परम्परा छ। यसपछि काठमाडौंको कुमारीको बिशेष उपस्थितिमा तलेजु मन्दिरका पुजारी कर्माचार्य तथा राजोपाध्ययायहरुले बिशेष पुजा गरी मन्दिरमा भित्रयाइन्छ।
यसपछि हवन गरिन्छ। जुन आगोको ज्वाला चाँगुनारायणको डाँडाबाट देखिनुपर्छ भन्ने मान्यता थियो। हनुमानढोकामा पुजा सकेपछि तीनवटै कलशलाई राजाका लगेर देखाउने परम्परा रहेकोमा गणतन्त्र पछि परिबर्तन भई अहिले राष्ट्रपति लाई दर्शन गराउने व्यवस्था गरिएको छ।
राष्ट्रपतिले दर्शन गरेपछि कलशको जललाई शोभाभगवतिसंगैको भचाःखुशी नदीमा सेलाएसंगै यो कलश जात्रा पनि समापन हुन्छ।