arrow

यस्तो छ मन्त्रीहरुको चाला, कोही बदनाम कोही गुमनाम 

logo
प्रकाशित २०७५ माघ ७ सोमबार
pm-office-and-council-of-ministries.jpeg

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारलाई अहिलेसम्मकै मजबुद सरकारका नामले चिनिन्छ । राम्रा काम गरेकाले जनताले मन पराएर नभई दुई तिहाईको समर्थनको सरकार भएकाले । 

तर ओलीले सत्ता हाँकेको ११ महिना पूरा भइसके पनि कामको गति भने खासै अगाडि बढेको छैन । यतिसम्मकि सरकार प्रशंसायुक्त नभई आलोचनाबाट मुक्त हुन सकेन । 

ओलीको टिममा कोही सारै बढी कुरा गर्न सिपालु त कोही निकै गुमनाम जस्ता भएका छन् । 

कुरा गर्न सिपालुहरु बदनाम भएका छन् भने कुरा नगर्नेहरु कताकता गुमनाम भइरहेका छन् । 

प्रधानमन्त्री ओली आफै आलोचित
प्रधानमन्त्री ओली सपना बाँड्न माहिर । अनि कुरो र कुलोलाई जता पनि तन्काउन सिपालु । 

उनी पदमा नरहँदा पनि चर्चामा हुन्थे भाषणका कारण । अहिले पनि चर्चामा छन् झुठले भरिएका भाषण गरेर । 

उनी महत्वाकांक्षी सुनाउँछन् । अनि आफै बदनाम हुन्छन् । पुस १६ गते पानीजहाज चढाएर नेपालबाट कोलकत्ता पुर्याउने भन्दै विपक्षीको आलोचना गरेका उनी आफै आलोचनाको शिकार बनिरहेका छन् । ओली सपना बाँडेरै आलोचित भइरहेका छन् । 

गृहमन्त्री बादलको हालत
सरकारमा दोस्रो ठूलो शक्तिशाली मन्त्रालय सम्हालिरहेका गृहमन्त्री रामबहादुर थापा बादल सुरुवातमा राम्रा काम गर्ने आश्वासनले र पछि आफ्नै कर्मले बदनाम भए । 

उनी सिण्डिकेट हटाउने नाममा खुबै चर्चामा रहे । त्यसैगरी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका पदाधिकारीको सम्पत्ति छानविन गर्ने नाममा चर्चामा रहे । 

त्यसपछि उनी ठेकेदार कार्वाही गर्ने विषयमा चर्चामा रहे । समयमा काम नसक्ने ठेकेदारलाई कारवाही गर्ने भनेपछि बादलले जनहितमा काम गर्ने भए भनेर पनि चर्चामा रहे । 

तर पछि उनी आफै सेलाएर गए । केही पनि भएन । प्रहरी प्रशासनलाई पनि केही गर्न सकेनन् । निर्मला पन्त हत्या प्रकरणमा हत्यारालाई कार्वाही गर्ने भन्थे । धिरु बस्नेत नेतृत्वको समितिले बुझाएको फाइलसमेत अलपत्र भयो । 

शान्ति सुरक्षा दिन नसकेर आलोचित बादल पछिल्लो समय सुस्ताएका छन् । 
 

रक्षामन्त्री पोखरेल
रक्षामन्त्री इश्वर पोखरेलको मन्त्रालयसंग आमनागरिकको प्रत्यक्ष सरोकार खासै हुन्न । तर उनी सेनालाई किन्ने गाडी र राष्ट्रपतिलाई किन्ने गाडीसंगै हेलिकोप्टरका कारण चर्चामा छन् । 

रक्षामन्त्री पोखरेल पछिल्लो पटक भने बित्थामा विवादमा परे । उनले सरोकारै नराखे हुने विषयमा बोलेर उनी आगोमा हात राखेजस्तै हुनुपर्यो । 

निर्मला पन्त हत्या प्रकरणका सम्बन्धमा दिएको आधारहीन अभिव्यक्तिले गर्दा उनी आफै आलोचनाको शिकार बन्नुपर्यो । 

यातायात मन्त्री रघुवीर महासेठ
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ यातायातको सिन्डिकेट हटाउनका लागि खुवै लागे । तर पछि आफै यातायात व्यवसायीको काखी च्यापेर हिँडे । 

गृहमन्त्रीले सिन्डिकेट हटाउँछु भन्दै उनै तगारो बनेर उभिए । यातायातको सिन्डिकेट हट्यो भन्ने दावी सरकारको हो । तर समिति ज्यूँदै छन् । 

विभिन्न मयूर, ओरेन्ज लगायतका यातायातहरु देख्दा नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको कालो धनलाई सेता बनाउन जवरजस्ती सवारी छिराउने र त्यसका लागि सिन्डिकेटको नाटक रचेको समेत आरोप खेप्न थालेका छन् मन्त्री महासेठले । 

मन्त्री महासेठ बदनाम त भए नै पछिल्लो समय आफ्नै मन्त्रालय मातहतका कामहरु गर्न नसकेको भन्दै आलोचित भएका छन् । हालैका दिनमा भने उनी गुमनाम जस्तै छन् ।

रोजगार मन्त्री गोकर्ण विष्ट 
रोजगार तथा श्रममन्त्री गोकर्ण विष्ट तुलनात्मक रुपमा काम गरेरै चर्चामा छन् । उनले सामाजिक सुरक्षा कार्यक्रमको सुरुवात, विभिन्न मुलुकसंग श्रम सम्झौता, वैदेशिक रोजगार व्यवसायीमाथि अंकुश, श्रम स्वीकृतिको विकेन्द्रीकरण लगायतका कामले चर्चा बटुलेका हुन् ।

तर जति चर्चा भइरहेको छ त्यति नै उनी प्रगतिपथमा भने सफल देखिएका छैनन् । व्यवसायीले ठग्न छाडेका छैनन् । विभिन्न ठाउँमा श्रम स्वीकृति लिन मात्रै बस्नुपर्ने लाइनले उनको आलोचना भइरहन्छ । 

तर जेहोस् कामै नगर्ने समूहमा रहेर पनि उनले धेरै नै काम गरेको मान्नुपर्छ । उनी भोलिको कत्तिको सफल होलान् तर आजसम्म भने राम्रै काम गरेर चर्चामा छन् । 

दुर्भाग्य त यो छ कि सरकारले स्वदेशमै रोजगार दिने भनिरहेको छ उनी भने धमाधम नेपाली युवा शक्तिलाई विदेश पठाउन धमाधम लागिरहेका छन् । 

सञ्चारमन्त्री गोकुल​​​​​​​ बाँस्कोटा
सरकारका प्रवक्ता तथा संचार एवं सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा आफ्नै कारणले विवादमा आउने गर्छन् । उनी संचारकर्मी पनि हुन् । 

तर संचारकर्मीलाई नै भन्न मिल्ने नमिल्ने सबै कुरा भनेर उनी बढी आलोचित छन् । उनको बोलीमा रोक लगाउने कोही पनि छैनन् । 

त्यसैले उनले सूचना दिने बेलामा बडो कठोर नीति लिन्छन् । संचारकर्मीले सोधेको प्रश्न उनलाई चित्त बुझेन भने आफै अनुसन्धान गरेर पत्ता लगाउनु भनिदिन्छन् । 

सम्पत्ति विवरणबारे झुठो विवरण भरेकोबारे नेपाल टेलिभिजनमै दिएको अभिव्यक्तिपछि उल्टै मपाइँत्व ग्रहण गर्दैै प्रश्न सोध्नेलाई नै कार्यक्रबाट हटाएर उनले पत्रकारिता जगत्को धज्जी उडाए । 

उड्डयन मन्त्री रविन्द्र अधिकारी
पहिले प्रचारमा रमाउने पछि अगाडि पर्न डराउने मन्त्रीमा गनिन्छन् पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी । 

उनी मन्त्री भएदेखि प्रचारमुखी भएका थिए । तर पछि उनी वाइडबडी खरिद प्रक्रियामा भएको घोटाला र यसबारे दिएका तथ्यहिन अभिव्यक्तिले नराम्ररी फसेका छन् । 

उनलाई आरोपबाट बचाउन संसदीय समितिले दिएको प्रतिवेदनलाई काउन्टर दिन प्रधानमन्त्री ओलीले अर्को समिति बनाएका छन् । 

मन्त्री अधिकारीले गल्ती महसुस गरेका छैनन् । उनको वाइडबडी काण्डमा प्रत्यक्ष संलग्नता भएको देखिन आउँछ । उनी पछिल्लो समय बोल्न डराउन थालेका छन् । 

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली
परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली प्रधानमन्त्री ओलीका विश्वास पात्र हुन् । उनी अधिकांश समय विदेश सयर गरेरै दिन कटाइरहेको आरोप लाग्दै आएको छ । 

उनी राजदुत नियुक्तिदेखि अन्तर्राष्ट्रिय कुटनीतिक सम्वन्धमा फितला देखिएका छन् । उनी कुटनीतिक भेटघाटमा परिपक्व ढंगले प्रस्तुत हुन नसकेको भन्दै आलोचित हुँदै आएका छन् । 

कर्मचारी मन्त्री लालबाबु पंडित 
साइकल चढेरै निकै चर्चा कमाएका मन्त्री हुन् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पंडित । 

उनले अल्छी कर्मचारीलाई तह लगाएको भनेर यसअघिको कार्यकालमा निकै चर्चा कमाएका थिए । 

तर स्थायी सरकारका रुपमा परिचित कर्मचारीलाई जिस्क्याएको आरोपमा उनी अहिले बदनाम हुन थालेका छन् । 

उनको सिंहदरबारको बसाई सुखद् हुन सकेको छैन । उनी चर्चामा भने आइरहन्छन् । उनी कर्मचारीलाई गाली गर्न पाए थाक्दैनन् । 

अर्थमन्त्री डा युवराज खतिवडा
अर्थमन्त्री डा युवराज खतिवडा गैर कम्युनिष्ट मन्त्रीका रुपमा परिचित छन् । उनलाई मन्त्री बनाउन खोज्दा अरु कम्युनिष्टमा आर्थिक नीति बुझेको थिएनन् र भन्दै विरोध भएको थियो । 

ओलीका विश्वासपात्रका रुपमा आएका उनले आर्थिक नीति दरिलो पार्न भने सकेनन् । 

उनले शेयरको आलोचना गरे । तर भित्रभित्र उनकै शेयर बढी । लगानी गर्नेलाई मुर्ख पनि भने । 

उनले सपथ खाएको दिनदेखि नै शेयर बजारमा ओरालो लागेको छ । 

खानेपानी मन्त्री बिना मगर 
खानेपानी मन्त्री बिना मगरले काठमाडौंवासीलाई निकै झुक्याइन् । दशैंको जमरामा मेलम्चीको पानी राखिदिने जस्तो अभिव्यक्ति दिएर दंग पारेकी उनै कमजोर मगरले गर्दा नै मेलम्चीको पानी तत्काल आउने सम्भावना छैन । 

राम्रो लिडिङ क्षमता नभएका कारण नै मेलम्चीको ठेकेदार कम्पनी कामै नगरी भागेको छ । 

प्रचारमुखी देखिन माहिर भए पनि अरु काम गर्न नसक्ने र मन्त्रालयमा पनि कुनै प्रभाव राख्न नसक्ने मन्त्रीका रुपमा उनी गनिएर चर्चामा छिन् । 

उनको चर्चा नेकपा अध्यक्ष पुष्पकमल दाहालका कारण पनि भएको हो । दाहालकी उनी बुहारी हुन् । 

शिक्षामन्त्री गिरिराजमणि पोखरेल
शिक्षामन्त्री गिरिराजमणि पोखरेल आफैमा बदनाम भएका छन् । डा गोविन्द केसीले १६ पटक सत्याग्रह किन गरेका होलान् भनी खोजतलास नगरी निहीत स्वार्थका लागि चिकित्सा शिक्षा विधेयकका कारण उनी चर्चामा छन् । 

उनी सिटीइभीटीका निजी कलेजहरुको निहीत स्वार्थमा डुलिरहेको आरोपसमेत लाग्ने गरेको छ । 

उद्योगमन्त्री मातृका यादव
 पहिलो पटक वन मन्त्री हुँदा सरकारका अधिकृतलाई नै बाँधेर कोठामा थुन्ने मन्त्री मातृकायादव यसपटक त्यति असहिष्णु भएका छैनन् । 

तर अटेरी भने खुवै छन् । आधारभुत काम समेत नगर्ने र संसदीय समितिको निर्देशनविरुद्ध गएपछि उनको लागेको बानी नजाने भन्ने नकारात्मक चर्चा हुने गरेको छ । 

सशस्त्र द्धन्द्धका बेलामा बन्द गराएका उद्योग उनका पालामा पनि खुल्ने सम्भावना कमै छ । उद्योगप्रति उनी सकारात्मक देखिएका छैनन् । 

स्वास्थ्यमन्त्री उपेन्द्र यादव
कम्युनिष्ट सरकारलाई समर्थन गरेपछि संघीय समाजवादी फोरमबाट सरकारमा सहभागी भएका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव सकारात्मक प्रभावले चर्चामा छैनन् । 

उनी स्वास्थ्य मन्त्री भएर कुनै चर्चायोग्य काम गर्ने मन्त्री परेनन् । डा गोविन्द केसीको आमरण अनसनमा पनि केही बोलेनन् । 

दुई जना स्वास्थ्य सचिव बनाएर उनी विवादमा छन् । आफ्नै मन्त्रालयलाई सही ढंगले अगाडि बढाउन नसक्ने उनी थोरै समयका लागि सरकारमा आएको बताउँदै जहाँ खान पाइन्छ त्यहीं दौड्ने र सेटिङ मिलाउनेमा लागेको आरोप लाग्ने गरेको छ । 

न नाम न बदनाम यी मन्त्री छन् गुमनाम
बाहिर सार्वजनिक भएर काम गर्न खोज्नेहरु कि नाम कमाउँछन् कि बदनाम हुन्छन् । कामै नगर्नेहरु केवल गुमनाम हुन्छन् । 

ओली सरकारका केही मन्त्री गुमनाम जस्तै छन् । उर्जामन्त्री वर्षमान पुन, कानुनमन्त्री भानुभक्त ढकाल, वनमन्त्री शक्ति बस्नेत गुमनाम जस्तै छन् । 

उर्जा अलपत्र जस्तै छ । अरुण तेस्रोको शिलान्यास गर्दा समेत ओलीबाट नजिक पर्न नसकेका पुन आफै टाढिन पुगे । 

मन्त्री बस्नेत गृहमन्त्री छँदा जति लाइटमा हुन्थे अहिले सुस्ताएका छन् । वनको संरक्षण भने हुन नसकेको आरोपछ । 

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा महिला तथा बालबालिका शोषित, पीडित हुँदा पनि प्रभावकारी बन्न सकेकी छैनिन् । 

खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले खेल क्षेत्रलाई सपार्न भन्दा बिगार्न लागेको आरोप छ । खेलकुद संघहरु मिलाउन नसकेपछि उनी छायाँमा छन् । 

कृषिप्रधान देशमा कृषिमन्त्री चक्रपाणि खनाल गुमनाम जस्तै छन् । भूमि सुधारमन्त्री पद्माकुमारी अर्याल पछिल्लो समय घरजग्गा निर्माणका लागि भूमि फुकुवा गर्ने नीतिले चर्चामा रहे पनि उनी अधिकांश समय गुमना छिन् । 

राज्यमन्त्रीहरु पनि गुमनाम नै छन् । समग्रमा ११ महिनाको कार्यकालमा ओली सरकारले के चाहीं राम्रा काम गर्यो त भनी हेर्नुपर्ने भएपछि अब चार वर्ष पनि यसरी नै बित्ने त होला नि भन्ने अनुमान हुन थालेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ