arrow

मुस्लिम पहिचानसहितको समुदाय हो : सभापति देउवा

logo
प्रकाशित २०७५ माघ ५ शनिबार
sher-deuba.jpg.jpeg

पोखरा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मुस्लिम धर्मावलम्बी आफ्नो धर्मप्रति पूर्ण आस्थावान् र आफ्नै पहिचान बोकेको समुदाय रहेको बताएका छन् । नेपाली काङ्ग्रेसको पोखरास्थित पार्टी कार्यालयको परिसरमा आज नेपाल मुस्लिम सङ्घ, प्रथम गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक, बौद्धिक र सामाजिक क्षेत्रमा मुस्लिम समुदायले गरेको योगदानलाई पार्टीले सम्मान गरेको बताए।

उनले काङ्ग्रेसले मुस्लिम समुदायका लागि पार्टीको सहसचिवलगायत पाँच पदाधिकारीको पद आरक्षित गरेको प्रसङ्ग उल्लेख गर्दै यस पार्टीले सबै धर्म समुदायलाई समेटेर अगाडि बढ्ने गरेको स्पष्ट पाए । 

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौंडेलले राष्ट्रको निर्माण र लोकतन्त्र ल्याउनमा मुस्लिम समुदायको अहम् भूमिका रहेको उल्लेख गरे। उनले नेपाली काङ्ग्रेसलाई सुध्रिनुपर्ने र नयाँ छविका साथ अगाडि बढ्नुपर्ने सुझाव दिनाका साथै देउवा र पौडेल गुटका रुपमा नभई नेपाली काङ्ग्रेसका रुपमा जनताको माझमा पुग्न कार्यकर्तालाई आह्वान गरे । उनले सुशासन, शान्ति र विकासका कार्य सरकारले गर्न नसकेको आरोप लगाउँदै मुलुकको उन्नतिका लागि सजग हुनु आवश्यक रहेको बताए । 

काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले मुस्लिम धर्मावलम्बीले अब नेपाली काङ्ग्रेसलाई चुस्त र दुरुस्त बनाउनतर्फ अग्रसर हुन आह्वान गरे । उनले पार्टीभित्रका तीक्ततालाई अन्त्य गरी एकजुट भएर अगाडि बढेमा काङ्ग्रसलाई कसैले हराउन नसक्ने धारणा राखे । 

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले एउटा निर्वाचन हार्दैमा निराश नहुन कार्यकर्तालाई उत्साहित गर्दै पार्टीको सङ्गठनलाई बलियो बनाउनुपर्ने विषयमा जोड दिए । पूर्वमन्त्री फरमुल्ला मन्सुरले धार्मिक सांस्कृतिकको जगेर्नाका साथै लोकतन्त्रलाई बलियो बनाउने दायित्व काङ्ग्रेसले जिम्मेवारी निर्वाह गर्दै आइरहेको बताए । नेपाल मुस्लिम सङ्घका केन्द्रीय सभापति अब्दुल सतारले कार्यक्रमको अध्यक्षता गर्दै केन्द्रका साथै गण्डकी प्रदेशले पनि मुस्लिमको पर्वमा सार्वजनिक बिदा नदिएको सम्बन्धमा आपत्ति जनाए । 

सो अवसरमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यमा सुरेन्द्रराज पाण्डे, जीवन परियार, प्रदीप पौडेल, डा अबातुल मन्सुर, तरुण दलका केन्द्रीय सभापति जीतजङ्ग बस्नेत, नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसी, नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी लगायतले भेलाको सफलताको कामनाका साथै मुस्लिम धर्मावलम्बीको योगदानबारे चर्चा गरेका थिए । पार्टी सभापति देउवाले राष्ट्र र समाजमा योगदान पु¥याउनुभएका अन्तर्राष्ट्रिय फुटबल महिला खेलाडी दिया बानू लगायतलाई सम्मान गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ