मधेशी सांसदलाई प्रम ओलीको जवाफ - संविधान संशोधन फेसनको विषय होइन
प्रकाशित २०७५ माघ ४ शुक्रबार
279
Shares
काठमाडौं । मधेशी दलका सांसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन फेसनको विषय होइन भन्ने जवाफ दिएका छन् । शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सांसद प्रदीप यादवले संविधान संशोधन कहिलेसम्म हुन्छ र सुनकोशी र कमला डाइभर्सनको काम कहिलेदेखि अघि बढ्छ भनी प्रश्न गरे। जवाफमा प्रधानमन्त्री ओलीले संविधान संशोधन आवश्यकता र औचित्यताका आधारमा गर्ने हो भन्दै यो फेसनको विषय होइन भने।
उनले भने, “यो अन्धाधुन्ध स्वीकार वा अस्वीकार गर्ने विषय होइन, संविधान जनताका प्रतिनिधिले बनाएको हो, यो अपरिवर्तनीय होइन, जहिले औचित्य वा संशोधनको आवश्यकता हुन्छ तब संशोधन हुन्छ ।”
प्रधानमन्त्री ओलीले मुलुकको द्रुत विकासका लागि कृषिको आधुनिकीरण आवश्यक रहेको र त्यसका लागि तराईमा धेरै सिँचाइ आयोजना थप गर्न डाइभर्सन आयोजना महत्वपूर्ण रहेको बताए ।
सांसद चन्दा चौधरीले मधेश आन्दोलनमा भएको क्षतिका सम्बन्धमा सर्वोच्च अदालतका पूर्वन्यायाधीस गिरिशचन्द्र लालको संयोजकत्वमा बनेको आयोगको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ भनी प्रश्न गरेकि थिइन् ।
जवाफमा प्रधानमन्त्री ओलीले मुलुक परिवर्तनका लागि विभिन्न समयमा विभिन्न आन्दोलन भएको उल्लेख गर्दै प्रतिवेदन सार्वजनिकभन्दा पनि वास्तविक र सकारात्मक कार्यान्वयन गर्नुपर्ने कुरालाई बढी ध्यानमा राख्नुपर्ने बताए ।