arrow

डा. केसीको जीवन रक्षाका लागि इलाममा हस्ताक्षर संकलन

logo
प्रकाशित २०७५ माघ ३ बिहिबार
govinda-kc-ilam.jpg

इलाम । नौँ दिनदेखी १६ औँ सत्याग्रहमा बसेका प्राध्यापक डा. गोविन्द केसीको जीवन रक्षा र सरकारले केसीसंग गरेका सम्झौता तत्काल कार्यन्वय गर्नुपर्ने भन्दै इलाममा हस्ताक्षर संकलन अभियान सुरु भएको छ । नेपाल विद्यार्थी संघले हस्ताक्षर संकलन अभियान सुरु गरेको हो । केसीसंग सरकारले गत साउन १० गते गरेको सम्झौता कार्यन्वयन तत्काल गर्नुपर्ने र उनको स्वास्थ्य अवस्था गम्भिर हुँदै गएकाले जीवन रक्षा लागि हस्ताक्षर संकलन अभियान थालेको संघका उपाध्यक्ष प्रकाश भटटराईले बताए ।
 
संकलित हस्ताक्षर जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री समक्ष पठाउने बताइएको छ । यता केसीको समर्थनमा इलामसहित जिल्लाका बिभिन्न स्थानमा दिनहुँ र्‍याली र कोणसभा भइरहेका छन् । यसैक्रममा बिहीबार पनि सदरमुकाममा इलामे नागरीकहरुले र्‍याली र कोणसभा गरेका छन् । ठूलो टुडिखेलबाट रयाली निकालेर चोक बजारमा कोणसभा गरीएको थियो । सभालाई सम्बोधन गर्दै पत्रकार सोमनाथ सुसेलीले केसीले उठाएका माग जायज भएको जनाए ।

केसीले आफनो र परिवार तथा कुनैपनि पार्टीको स्वार्थका लागि आन्दोलन नगरेको स्पष्ट पार्दै देशका तीन करोड नेपाली जनताको लागि आन्दोलन गरेको बताए । सत्याग्रहमा बसेका केसी अहिले जीवन र मरणको दोसाधमा रहेको जनाउँदै सुसेलीले स्वास्थ्य क्षेत्रमा भइरहेको बिकृति बिसङगती बिरुद्ध लाग्ने केसी नेपाली जनताको मुद्धा लिएर हिँडेका हुन् । उनले उठाएका माग र सरकारले उनिसंग गरेका सम्झौता कार्यन्वयन गरे केसीको मात्र नभएर सिंगो नेपालीको माग पूरा हुने बताए।
 
यस्तै कोणसभालाई सम्बोधन गर्दै झापाका सामाजिक अभियान्ता अनिल भेटवाल, योगेन्द्र खनालले पनि जनताको आवाज उठाउने केसीका मागहरु हामी सबै नेपालीको भएको जनाउँदै उहाँको जीवन रक्षा सहित सरकारले बिगतमा उनिसंग गरेका सम्झौता कार्यन्वयन गर्नैपर्नेमा जोड दिए ।

 चिकित्सा शिक्षा सुधारको माग राखेर डाक्टर गोविन्द केसी गत पुष २५ गतेबाट १६ औँ सत्याग्रहको रुपमा इलाममा बसेका छन् । केसीको सत्याग्रह नौदिन सम्म आइपुग्दा उहाँ स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।  इलामनगरपालिका स्थित फुलगाछिमा सत्याग्रहमा बसेका केसीको स्वास्थ्य गम्भिर बन्दै गएपछि उनलाई केहिदिन अघि इलाम अस्पतालमा ल्याइएको छ ।
 
केसीको मुख्य माग पूर्व सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन जारी गर्नुपर्ने छ । पूर्व सहमति विपरीत संघिय संसद अन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि डाक्टर केसी १६ औँ  पटक सत्याग्रहमा बसेका छन् ।

 यसैबीच नेपाली काँग्रेस इलामले बिहीबार एक प्रेस बिज्ञप्ति जारी गर्दै केसी सत्याग्रहमा बसेको नौदिन बितिसक्दा पनि लोकतान्त्रिक र समाजबाद उन्मुख भन्ने बर्तमान सरकार संबेदनहिन बनेर मौन बसेको जनाउँदै केसीको जीवन रक्षाका लागि माग गरेको छ ।

पार्टीका कार्यबाहक सभापति शान्तिकला तामाङ राईद्वारा हस्ताक्षरित बिज्ञप्तिमा केसीको स्वास्थ्य गम्भिर भइरहेको चिकित्सकले जानकारी गराइरहेको अवस्थामा सरकारले तत्काल इलाम अस्पतालमा आवश्यक स्वास्थ्य उपकरणको प्रबन्ध मिलाई सघन उपचार कक्ष स्थापना गरी केसीको उपचारको ब्यबस्था मिलाउन माग गरेको छ ।

यस्तै केसीसंग बिगतमा सरकारले गरेको सम्झौता यथाशक्य कार्यन्वयन गर्न काँग्रेस इलामले बिज्ञप्ति मार्फत माग गरेको छ । वर्तमान सरकार र प्रधानमन्त्री केपीशर्मा ओलि जिम्मेवार र संबेदनशिल बनि बिगतमा भएका सम्झौता सहमति कार्यन्वयन गर्न र केसीको जीवन रक्षा गर्न काँग्रेस इलामले बिज्ञप्ति मार्फत माग गरेको छ ।

डा. केसीका मागहरु
१) १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित गरियोस् ।

२) गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् । त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस् । कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्ने मन्त्री परिषदको निर्णय बाबजुद चोर बाटोबाट दिन लागिएको सम्बन्धन तत्काल रोक्दै दोषी पदाधिकारीहरुलाई कारवाही गरियोस् ।

३) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस् । साथै पूर्वी पहाडका ताप्लेजुंग, इलाम ,पाँचथर,तेह्रथुम लगायतका जिल्लाका नागरिकलाई सहज स्वास्थ्य सेवा तथा मेडिकल शिक्षाका लागि लागि इलाममास सोलुखुम्बु, ओखलढुंगा, खोटांग, भोजपुर, उदयपुर, सिराहा र सप्तरी लगायतका जिल्ला समेटेर उदयपुरमास सुदुर पश्चिमका पहाडका डडेल्धुरा, डोटी, बैतडी, बझांग, अछाम, दार्चुला लगायतका जिल्ला समेटेर डोटी वा डडेल्धुरामा अबिलम्ब सरकारी मेडिकल कलेज तथा अस्पताल खोलियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस्।

४) निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।
५) द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई अन्तर्रा्ष्ट्रिय कानुन अनुसार दण्डित गरियोस् । द्वन्द्वपीडितहरुको माग सुनुवाइ गर्दै संक्रमणकालीन न्याय शीघ्र टुंगोमा पुर्याइयोस् ।
६) नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाण्डौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियास् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ