बाजुरा । गौमुल गाउँपालिकाको घट्मुनाबाट नुन वितरण गर्ने थालिएपछि गौमुलबासी खुसी भएका छन् । विगत लामो समयदेखि जिल्ला सदरमुकाम मार्तडी डिपोबाट नुन लिने गौमुल बासीहरुका लागि गाउँपालिकाको कार्यालय नजिकै गौमुल अस्थायी नुन डिपो सञ्चालनमा आएपछि सजिलो भएको छ ।
‘हामी १ दिनको पैदलदुरी हिडेर सदरमुकाम मार्तडी नुन लिन जान्थ्यौँ एक सय रुपियाँको नुनका लागि २ हजार बढी खर्च गर्नुपर्ने बाध्यता थियो अब हामीलाई सजिलो भएको गौमुल गाउँपालिका वडा नं. ३ गर्जेकी बिसु बोहराले सुनाईन्’ । उनले,भनिन् ‘हामीले नुनकै लागि भएपनि सदरमुकाम मार्तडी जान र आउन २ दिन खर्च हुन्छ,अब समयको र पैसाको सदुपयोग हुने बताईन् ।
सोही वडाकी पुनी धामीले भनिन्,‘साच्चै सिंहदरबारको अधिकार केही भएपनि गाउँमा आएको आभाष हामीले गरेको बताईन् । पहिला सबै काम गर्ने जिल्ला सदरमुकामै धाउनु पर्थ्यो त्यो समस्या केही मात्रामा भएपनि घटेको उनीहरुको भनाई छ । हामीले जनतालाई केही सजिलोको लागि नुन डिपो संग समन्वय गरी गाउँपालिकामै नुन डिपो सञ्चालन गरी वितरण गर्ने गरेको गौमुल गाउँपालिकाका अध्यक्ष हरी बहादुर रोकायाले बताए ।
उनले,भने‘विकास एकैचोटी सम्भव नुहुने भएकाले विस्तारै जनताका हरेक समस्यालाई समाधान गर्ने हामी संकल्प सहित लागिरहेको बताए । हामीले नुन डिपो पनि सञ्चालनमा ल्यायौँ,अब खाद्यान्न समेत गाउँपालिकामै वितरण गर्ने योजनामा गाउँपालिका रहेको अध्यक्ष रोकायाको भनाई रहेको छ । हामी जनताका सेवक भएकाले सक्ने जति काम गरेरै छोड्ने उपाध्यक्ष सिता थापाले बताईन् ।
गौमुल अस्थायी नुन डिपोबाट बार्षिक २ सय कुन्टल नुन बिक्री गर्ने गरेको नुन डिपो बाजुराका प्रमुख नर बहादुर भाटले बताए । ‘हामीले प्रत्येक अस्थायी नुन डिपोबाट १ हप्ता सम्म मात्र नुन बिक्री वितरण गर्ने गरेको उनले बताए’ । उनले भने,‘हालसम्म एक हजार बढीलाई नुन बिक्री वितरण गरेको बताउँदै जिल्लाकै मुल्य ९ रुपियाँमा बिक्री गरेको बताए ।
गाउँमै नुन बिक्री वितरण भएपछि नुन लिनेको घुईँचो लाग्ने गरेको छ । जनतालाई सहज सेवाका लागि जिल्लाको गौमुल गाउँपालिका,खप्तड छेडेदह र हिमाली गाउँपालिकाको धुलाचौर जुण्डी अस्थायी नुन बिक्री केन्द्रबाट नुन बिक्री वितरण गर्ने गरिएको नुन डिपो बाजुराका प्रमुख नर बहादुर भाटले बताए ।