कमजोर सरकार र निरीह प्रतिपक्षले जनता निराशः सिटौला
प्रकाशित २०७५ माघ २ बुधबार
564
Shares
बनियानी । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कमजोर सरकार र निरीह प्रतिपक्षका कारण जनतामा निराशा बढ्दै गएको बताएका छन् ।
गृह नगर भद्र्रपुरमा बुधबार पत्रकारसँग कुरा गर्दै नेता सिटौला बहुमत पाएको बलियो वर्तमान सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको विचार व्यक्त गरे। “दुई तिहाइको सरकार आएपछि जनतामा ठूलो आशा जागेको थियो”, उनले भने, “तर, अपेक्षाकृत काम भएको छैन, प्रतिपक्षमा रहेको कांग्रेसले पनि गतिलो भूमिका निर्वाह गर्न सकेको छैन ।”
२०४६ सालको परिवर्तनपछि कांग्रेसको तत्कालीन नेतृत्वले व्यवस्था अनुकूल काम गर्न नसक्दा दश वर्षे युद्धको नरसंहार व्यहोर्नुपरेको बताउँदै उनले वर्तमान सरकारले विगतको इतिहास बुझेर जनपक्षीय हुनुपर्ने सुझाव दिए। उनले भने, “त्यसो भएन भने सङ्घीयता, लोकतन्त्र र गणतन्त्र पनि धरापमा पर्न सक्छ ।”
नेता सिटौलाले सङ्घीय संरचनाअनुसार कांग्रेसलाई रूपान्तरण गरी जनताका घरदैलोसम्म लैजानुपर्नेमा जोड दिए । वाइड बडी विमान घोटालाका विषयमा कांग्रेसको महासमिति भेलाले दोषीलाई कारवाही गर्नुपर्ने आधिकारिक धारणा प्रस्तावका रूपमा पारित गरेकोसमेत नेता सिटौलाले बताए ।