काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) को केन्द्रीय कार्य सम्पादन समितिले वाइड बडी जहाज खरीद प्रकरणमा संसद्को लेखा समितिको छानबिन उपसमितिले तयार गरेको प्रतिवेदनका आधारमा दोषीलाई कारवाहीको माग गरेको छ ।
पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराको अध्यक्षतामा केन्द्रीय कार्यालयमा सोमबार बसेको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले संसदीय सर्वोच्चता कायम राख्न उक्त प्रतिवेदनलाई कार्यान्वयन गर्नुपर्ने र सरकारले न्यायिक समिति गठन गरेर संसद्को सर्वोच्चतालाई चुनौती दिने कार्य गरेको निष्कर्ष निकालेको छ ।
हरेका वर्ष पुस २७ गतेलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस उल्लेख गरी उक्त दिन राष्ट्रिय बिदा कायम गर्न पार्टी अध्यक्षको नेतृत्वमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने तथा सम्बन्धित जिल्ला कार्य समितिको पहलमा सातै प्रदेशका मुख्यमन्त्री मार्फत ज्ञापनपत्र दिने निर्णय गरिएको प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए। बैठकले महामन्त्री ध्रुवबहादुर प्रधानद्वारा प्रस्तुत पार्टी सङ्गठनसम्बन्धी नीति तथा कार्यक्रमलाई आवश्यक परिमार्जनसहित पारित गरेको छ ।