राप्रपा सम्बन्धिका भ्रम र अफवाह चिर्न आवश्यक : कमल थापा
प्रकाशित २०७५ पुष २३ सोमबार
285
Shares
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सबै धर्म–सम्प्रदायसँग समन्वय गरेर अगाडी बढ्ने बताएका छन् । सोमबार पार्टीको आदीवासी जनजाति विभागद्वारा आयोजित ‘राष्ट्रिय प्रजातन्त्र पार्टी र आदिवासी जनजाति बिचको सम्बन्ध’ विषयक विचार गोष्ठीमा बोल्दै थापाले हिन्दु, बौद्ध, किराँत, मुस्लीम र क्रिश्चियन सबैको साझा पार्टीको रुपमा राप्रपालाई निर्माण गर्ने दावी गरे ।
राप्रपाका विषयमा धेरै भ्रम र अफवाहहरु छन्, तिनलाई चिरेर अगाडी बढ्न आवश्यक भएको चर्चा गर्दै अध्यक्ष थापाले राप्रपाले उठाएका विषयहरु देश र जनहितको पक्षमा रहेको दावी गरे । सवै जाति, भाषा र धर्मको समुचित विकास नभई देशको समग्र विकास हुन नसक्ने समेत थापाले स्पष्ट पारेका छन् ।
सो कार्यक्रममा बोल्दै पार्टीका नेता तथा प्रतिनिधीसभाका सांसद राजेन्द्र लिङदेनले सम्पुर्ण आदिवासी जनजातिको भाषा, लीपीको संरक्षण र सम्बर्धनमा राप्रपा सदैव सचेत एवं चनाखो रहेको बताए । सबै जातजाति, भाषाभाषी र धर्मावलम्बीहरु अटाउन सक्ने एजेण्डा राप्रपाले अख्तियार गरेकोले निर्धक्क भई पार्टीको संगठन विस्तारमा लाग्न उनले आग्रह समेत गरे।
आदिवासी जनजाति विभागका प्रमुख लालध्वज लामाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पार्टीका वरिष्ठ नेता बालाराम घर्तिमगर, प्रशिक्षण विभागका प्रमुख भुवन पाठक, मोहन लामा लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।