कर्मचारी समायोजन अध्यादेशको विरोधमा नेपाल निजामति कर्मचारी युनियन संघ सडकमा
माइतीघरमा उत्रिएका प्रदर्शनकारीले भने, ' माग सम्बोधन नभए थप आन्दोलन गर्छौं '
प्रकाशित २०७५ पुष १६ सोमबार
462
Shares
काठमाडौं। नेपाल निजामती कर्मचारी युनियन संघले सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । सरकारले ल्याएको कर्मचारी समायोजन सम्बन्धी अध्यादेशको विरोधमा निजामती कर्मचारी संघले प्रदर्शन गरेको हो।
माइतीघर मण्डलामा आयोजित विरोधसभालाई संघका अध्यक्ष गोपाल प्रसाद पोखरेल, वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी, आधिकारिक ट्रेड युनियनका महासचिब सुवोध कुमार देबकोटाले सम्बोधन गरेका थिए ।
निजामती, सरकारी सेवा, स्थानीय निकाय, बिकास समिति, स्वास्थ सेवाका साथै अन्य सेवामा रहेका सयौं कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई संम्बोधन गर्दै नेपाल निजामति कर्मचारी युनियन संघका अध्यक्ष गोपाल प्रसाद पोखरेलले वर्तमान सरकारले संघीयता कार्यान्वयनका लागि भन्दै ल्याएको कर्मचारी समायोजन सम्बन्धी अध्यादेश गलत नियतका साथ आएको बताए । उनले यसले कर्मचारीको बृत्ती विकासमा ढोका बन्द गर्ने भएकाले यसका विरुद्ध सडकमा आउनु परेको बताए।
यसैगरी आधिकारीक ट्रेड युनियनका महासचिब सुवोध कुमार देबकोटाले सरकारले ल्याएको अध्यादेश गलत भएको भन्दै यसको भण्डाफोर गर्ने बताए। अहिले आधिकारिक ट्रेड युनियनमा सरकार निकटका व्यक्तिको हालि मुहाली भएकाले सरकारसँग अहिलेकै अवस्थामा सम्झौता भए आफू आधिकारिक ट्रेड युनियनबाट राजीनामा दिएर आन्दोलनमा आउने घोषणा गरे।
कर्मचारीहरुको आन्दोलन यसअघिनै सोमबार दिउँसो ३ बजेका लागि तय गरिएकोमा सोही समयमा सिंहदरबारका कार्यालयमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय सतर्कता केन्द्रले छड्के गरेका थिए। आन्दोलनमा गएका कर्मचारीलाई कारबाही गर्ने उद्देश्यले गरिएको छड्के जाँचको पनि कर्मचारी युनियनले विरोध गरेको छ।
युनियन संघका उप महासविच दुर्गा फुयाँलले सरकारले गलत काम गरेकाले आफूहरु आन्दोलनमा आउन बाध्य भएको उल्लेख गर्दै आन्दोलनका क्रममा छड्के गरेर कारबाही गरे झनै कडा आन्दोलन गर्ने चेतावनी दिए ।
संघीय संसदको मंगलवारको बैठकमा कर्मचारी समायोजन सम्बन्धी अध्यादेश स्वीकृत गर्ने कार्यसूची तय भइसकेको छ । त्यसअघि मंगलवार नै नेपाली कांग्रेसका सांसद गगन कुमार थापा र नेमकिपाका सांसद् प्रेम सुवालले अस्वीकार गरियोस भन्ने प्रस्ताव पनि निर्णयार्थ पेश हुने छ ।