काठमाडौं । उर्दू भाषाकी विज्ञ नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा आफ्नो काम थालेकी छिन् । शनिाबार नेपाल आइपुगेकी यान्छीले आइतबार आफ्नो ओहदाको प्रमाणपत्र परराष्ट्र मन्त्रालयलाई बुझाएकी हुन् ।
आइतवार परराष्ट्र मन्त्रालयमा पुगेर आफ्नो ओहोदाको प्रमाणपत्र मन्त्रालयका चिफ अफ प्रोटोकल दीपक अधिकारी समक्ष पेश गरेको काठमाडौं स्थित चिनियाँ दूतावासले जनाएको छ।
चीनले नयाँ राजदूतको रुपमा आफ्नो विदेश मन्त्रालयको एसिया क्षेत्र हेर्ने विभागका ६ डेपुटी डाइरेक्टर जनरल मध्येकी एक यान्छीलाई काठमाडौं पठाएको हो ।
के सन्देश दिइन् ?
काठमाडौं आएसँगै यान्छीले सन्देश जारी गर्दै आपसी हित, शान्तिपूर्ण सहअस्तित्वको क्षेत्रमा दुई देशबीच साझेदारी अगाडि बढ्ने बताएकी छिन् ।
यान्छीले आफ्नो सन्देशमा दुई देशबीचको सम्बन्ध पछिल्लो समय थप उचाइमा पुगेको भन्दै दुबै देशले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ मार्फत कनेक्टिभिटी, व्यापार, लगानी, उर्जा, कृषि, सांस्कृति तथा पर्यटनको क्षेत्रमा साझेदारी बढाउँदै लगेको बताएकी छिन् ।
उनले जनसम्बन्धको विस्तारसँगै दुबै देशबीच आपसी सम्बन्ध गहिराइमा पुगेको बताएकी छिन्। उनले बुद्धको जन्मभूमि नेपाल र नेपाली सांस्कृतिक सम्पदा तथा नेपाली सहृदयी मानिसहरु रहेको भन्दै प्रशंसा गरेकी छिन् ।
कुन कुरालाई महत्व ?
वर्तमान सरकारले भारतलाई पनि उत्तिकै महत्वका साथ हेरिरहेको सन्दर्भमा यान्छीले नेपालको ध्यान चीनतर्फ बढी केन्द्रीत गराउने छिन् । उनले बेल्ड एन्ड रोड नीतिलाई नै अगाडि बढाएर दक्षिण एसियामा पकड जमाउन थप मद्धत गर्नेछिन् ।
नेपाललाई कतै पनि भड्कन नदिइ चिनियाँ नीतिमा डोहोर्याउन वाध्य पार्ने चिनियाँ नीतिलाई उनले थप मलजल गर्नेछिन् । त्यतिमात्र होइन उनी उर्दू भाषाकै विज्ञ भएका नाताले भाषाको विद्धतालाई अझ बढी फराकिलो बनाउने छिन् ।
त्यसको सदूपयोग गर्नेछिन् । नेपालबाट चीनविरुद्ध हुन सक्ने कुनै पनि गतिविधिलाई उनले गम्भीरपूर्वक नियाल्ने छिन् । नेपाल ‘एक चीन नीति’ मा अडिक रहे पनि कुनै घुसपैठ हुन सक्ने वा त्यस्तै गतिविधि हुन सक्नेतर्फ उनी सचेत रहने विश्वास गरिएको छ ।