नैनसिंह महर भन्छन, ' नेविसंघ झापामा राजेन्द्र उप्रेती नेतृत्वको कार्यसमिति नै आधिकारिक '
प्रकाशित २०७५ पुष १५ आइतबार
484
Shares
काठमाडौं। नेबिसंघ झापाको बिहिवार सम्पन्न १२ औं जिल्ला अधिवेशनबाट निर्वाचित राजेन्द्र उप्रेतीको कार्यसमिति नै आधिकारीक रहेको केन्द्रीय अध्यक्ष नैनसिंह महरले प्रष्ट पारेका छन्।
जिल्ला नेतृत्वमा भुवन बुढाथोकीले अर्को समितिको दावी गरेपनि उप्रेती नेतृत्वको निर्वाचित समिति नै आधिकारीक भएको महरले प्रष्ट पारेका हुन्। बिहिवार रातभर लगाएर निर्वाचन सम्पन्न पश्चात विजयी भएका उप्रेती प्रक्रियाका हिसावले पनि आधिकारीक भएको महरले बताए।
नेपाल विद्यार्थी संघ आफ्नो महाधिवेशनको तयारीको सिलसिलामा विभिन्न जिल्ला तथा क्याम्पस इकाइहरुमा अधिवेशनको क्रममा रहेको छ। कतिपय स्थानमा केहि छिटफुट विवादका घटना भएपनि त्यसलाई विवेकपूर्ण ढंगले मिलाउने काम भइरहेको महरले बताए। कतिपय स्थानमा देखिएका विवाद अप्राकृतिक खालका रहेको उल्लेख गर्दै महरले झापामा प्रक्रिया पुरा गरेर अधिवेशन भएका कारण पनि त्यसमा थप विवादको कुनै अर्थ नभएको महरले प्रष्ट्याए।
नेविसंघ झापाको अध्यक्षमा दावी गर्ने बुढाथोकीलाई जिल्लाका नेताहरु भगिरथ पोदार, प्रेम सम्बाहाम्फे, नारायण गिरी, मदन बुढाथोकी, शिव कडेँल, मनोज कार्कीको समर्थन छ। उनीहरुले सामाजिक सञ्जाललगायत विभिन्न मिडियामा बुढाथोकी अध्यक्ष भएको संप्रेषण गरेका थिए। तर केन्द्रीय अध्यक्ष महरको यो स्पष्टीकरणले बुढाथोकीको अध्यक्षको दावीलाई खारेज गरेको छ।
निर्वाचनको प्रक्रियाबाटै चुनिएका राजेन्द्र उप्रेतीलाई झापा कांग्रेसका जिल्ला सभापति उद्धव थापा, नेता सुधिर शिवाकोटी, देउमान थेबे, नविन विमली, गणेश पोखरेललगायतको समर्थन रहेको छ। उप्रेतीसँगै कार्यसमितिको निर्वाचित सचिवमा नारायण नेपाल, कोषाध्यक्षमा नवराज ढकाल लगायत छन्।