arrow

प्रचण्डकै कारण लोकतन्त्र धरापमा !

logo
अश्रु किरण,
प्रकाशित २०७५ पुष १५ आइतबार
prachanda-ccm-768x480.jpg

काठमाडौं। नेकपा अध्यक्ष प्रचण्डले गत बुधबार व्यवस्थापिका संसद्को बैठकमा लोकतान्त्रिक प्रणाली विरुद्ध दिएको अभिव्यक्तिलाई धेरैले ध्यान दिएनन् । केहीले दिएपनि यो प्रचण्डको बोलिलाई विश्वास गरेनन्। प्रचण्डले आफ्नै पार्टी नेतृत्वको सरकारलाई काम गर्न नसकेको भनिरहँदा सबैले त्यसैमा ताली पिट्न थाले । तर, उनले त्योसँगै लोकतान्त्रिक प्रणालीको विरुद्धमा दिएको अभिव्यक्तिलाई कसैले पनि ध्यान दिएनन् । उनले नेपालको विकास नहुनुमा लोकतान्त्रिक प्रक्रिया बाधक रहेको अभिव्यक्तिमात्रै दिएनन्। परम्परागत निरंकुशतावादी कम्युनिष्ट सरकार भएको भए ड्याम ड्याम निर्णय गरेर विकास गरिने प्रतिक्रिया समेत दिए । 

सरकार सञ्चालनको एक वर्षसम्म आईपुग्दा भ्रष्टाचार, दण्डहीनता र कुशासनको दलदलमा फसेको सरकार विरुद्ध अहिले प्रतिपक्षी दल काँग्रेसले समेत बलियो प्रतिपक्षको भूमिका खेल्न सकेको छैन । यस्तो अवस्थामा सरकारले यदि विकासतर्फ ध्यान दिएको थियो भने सरकारलाई अहिले अवरोध गर्ने कुनै शक्ति नै हुने थिएन् । दुई तिहाईको सरकारसामु संसद् र बाहिर पनि यदि राम्रो काम गरेको थियो भने कसैले औला उठाउन समेत सक्ने अवस्था थिएन । तर, नातावाद, कृपावाद र भ्रष्टाचारको भूमरीमा घुम्दै एक वर्षको समय खेर फालेको सरकारलाई जोगाउने बहानामा प्रचण्डले आफ्नो अन्तर्मनको भनाई राख्दै लोकतन्त्रको विरोध गरे । 

संसद्मा यो अभिव्यक्ति दिनुभन्दा केही दिन पहिले प्रचण्डले नै पूर्व राजा ज्ञानेन्द्रले एक होटलमा नाचेको विषयमा विवादास्पद अभिव्यक्ति दिए । प्रचण्डले फेरि एकपल्ट निरंकुशता सल्बलाउन लागेको संकेत गर्दै ढुक्क भएर बस्ने स्थिति नरहेको बताए । उनले  ती निरंकुशका शासकहरु नाच्दै हिँडेको आरोप लगाउँदै  होटल होटलमा के को लागि नाचेका हुन् ? भन्दै प्रतिप्रश्न गरे । 

प्रचण्डले निरंकुशताको उदाहरण दिईरहँदा उनको आफ्नै अभिव्यक्तिमा निरंकुशता देखिन्थ्यो। गणतन्त्र स्थापना पछि सामान्य नेपाली नागरिक भएका पूर्व राजा ज्ञानेन्द्रले आफ्नो व्यक्तिगत जीवनमा नाचगान गर्न समेत नदिने अभिव्यक्तिले प्रचण्डको आफ्नै नियतमाथि धेरैले शंका समेत गरे । गत बुधबार बसेको संसद् बैठकमा प्रचण्डले दिएको अभिव्यक्तिले लोकतन्त्र र संविधान समेत खतरामा त छैन ? भन्ने शंका उपशंका उब्जिएको छ । 

प्रचण्डका पछिल्ला धेरै अभिव्यक्तिहरु लोकतन्त्रको विरुद्धमा आउने गरेका छन् । कर्मचारी आन्दोलनमाथिको टिप्पणीमा होस् या त अरु नै । उनले दिने अभिव्यक्तिहरु अधिनायक सहितको कम्युनिष्ट शासनलाई सहयोग पुग्ने खालको देखिन्छ । केही समय अघि काँग्रेस महासमिति बैठकमा स्वतन्त्र रुपमा उठेको हिन्दू राष्ट्रको मुद्दालाई संविधान असफल बनाउने खेलको संज्ञा दिने प्रचण्डको अभिव्यक्तिमा पछिल्लो समय लोकतन्त्रको कारण विकास हुन नसकेको भन्ने जस्ता लोकतन्त्र विरोधि अभिव्यक्तिहरु आउने गरेको छ । 

संसद्को हिउँदे अधिवेशनको दोस्रो बैठकमा काँग्रेस नेता गगन कुमार थापाले दुई दिन अघि प्रतिनिधि सभा संसद्मा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । त्यसो त सोही दिन प्रचण्ड पछि बोलेका काँग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रचण्डको अभिव्यक्तिमाथि आपत्ति जनाएका थिए । तर, शुक्रबारको संसद्मा शुन्य समयमा बोल्दै नेता गगन थापाले सरकारले आफू काम गर्दा ढंग नपुर्‍याएको र दोष भने लोकतन्त्रलाई दिएर लोकतन्त्रमाथि धावा बोलेको रूपमा प्रचण्डको विरोध गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ