पार्टी संस्थागत रुपमा चलेन, एकै व्यक्तिले भजन गाइरहे : प्रकाशमान
प्रकाशित २०७४ फागुन ३० बुधबार
562
Shares
दमक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको बताएका छन् । नेपाली कांग्रेस दमक नगर समितिले बुधवार आयोजनामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिंहले कांग्रेस संस्थागतरुपमा चल्न नसक्दा पार्टी कमजोर बन्दै गएको औंल्याए ।
“अहिले पार्टीमा व्यक्तिवादी चिन्तन हावी भएको छ, कुनै एक व्यक्तिको भजन गाउने भन्दा पनि पार्टीलाई संस्थागतरुपमा चलाउनु पर्ने खाँचो अहिले छ ।” उनले भने।
ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न पनि पार्टीभित्र गाह्रो हुँदै गएको उनले टिप्पणी थियो । महाधिवेशन भएको दुई महिनामा गठन गरिसक्नुपर्ने विभिन्न उप समितिसमेत दुई वर्ष बित्दा पनि गठन नभएको तथा पार्टीको केन्द्रीय समितिले समेत पूर्णता नपाएको भन्दै पार्टीका पूर्व महामन्त्री सिंहले अब पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन नसके पार्टीनै मासिन सक्ने अवस्था आउने धारणा राखे।
कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले कार्यकर्तालाई ऊर्जा दिन केन्द्रीय नेतृत्वले नयाँ कार्यक्रम ल्याउनुपर्ने बताए । रासस