आपूर्ति सहज बनाउन कूटनीतिक प्रयास जारी छः प्रधानमन्त्री
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1.1k
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सीमा क्षेत्रमा उत्पन्न असहज परिस्थितिका कारण नेपाली जनताले झेल्न परेको पेट्रोलियम पदार्थलगायत अन्य दैनिक उपभोग्य वस्तुको अभाव हटाउन कूटनीतिक प्रयास जारी रहेको बताएका छन् ।
देशको ३८ औँ प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हालेका ओलीप्रति बधाई ज्ञापन गर्न तथा मुलुकको वर्तमान अवस्थाबारे उनलाई ध्यानाकर्षणपत्र बुझाउन मंगलबार प्रधानमन्त्री निवास पुगेका विभिन्न विद्यार्थी सङ्गठनका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।
मुलुकको राष्ट्रिय स्वाभिमानलाई अक्षुण्ण राख्दै तराई–मधेसका साथै भारतसँगको सीमा नाकामा उत्पन्न अवरोध हटाउन वर्तमान सरकार गम्भीर भएर लागेको जानकारी प्रधानमन्त्रीले दिएको नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले बताए ।
‘अहिलेको असहज अवस्थाबाट मुलुकलाई मुक्त गर्न सरकारले विविध उपाय अवलम्बन गरेको छ, चाँडो निकास निस्कनेमा म आशावादी छु’– प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै प्रवक्ता लामिछानेले भने ।
तराई–मधेसका समस्या राजनीतिक संवादका माध्यमबाट समाधान गर्न, भारतको अघोषित नाकाबन्दीका कारण कष्टकर बन्दै गएको जनताको दैनिकी सहज बनाउन कूटनीतिक प्रयासका साथै वैकल्पिक बाटोबाट इन्धन आपूर्तिका लागि ठोस प्रयास गर्न विद्यार्थी सङ्गठनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
भूपरिवेष्ठित नेपालको पारवहन अधिकार सुनिश्चित गर्न अन्तर्राष्ट्रि«य समुदायको ध्यानाकर्षण गर्नुपर्ने तथा अहिलेको असहज परिस्थितिको फाइदा उठाउँदै कालोबजारी गर्नेहरूमाथि कठोर कारबाही गर्नुपर्ने माग प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको ध्यानाकर्षणपत्रमा गरिएको छ ।