आइजीपी अर्याललाई प्रधानमन्त्रीको निर्देशन–‘निर्वाचन सफल पार्न भूमिका खेल्नू’
प्रकाशित २०७३ चैत २९ मंगलबार
854
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नव नियुक्त आइजीपी प्रकाश अर्याललाई देशको शान्ति सुरक्षा कायम गर्ने विषयमा इमान्दारितापूर्वक काम गर्न निर्देशन दिएका छन् ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नव नियुक्त प्रहरी प्रमुख अर्यालले प्रधानमन्त्रीसँग भेट गर्न गएपछि प्रचण्डले अर्याललाई उक्त निर्देशन दिएका हुन् ।
प्रचण्डले चुनौतीकाबीच स्थानीय निकायको निर्वाचन हुन गइरहेको भन्दै त्यसलाई सफल पार्न महत्वपूर्ण भूमिका खेल्न निर्देशन दिए । उनले प्रहरीको भूमिका सबैभन्दा महत्वपूर्ण भएकैमा जोड दिए ।
सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले अर्याललाई आइजीपीमा नियुक्त गरेको हो । आइजीपी अर्यालले सोमबार मध्यरातमै पदभार ग्रहण गरेका थिए ।
सो अवसरमा प्रधानमन्त्रीले आइजीपी अर्यालको कार्यकाल सफलताको कामनासमेत गरे ।