काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक नियुक्तिको फाईल फेरि मन्त्रिपरिषद्मा पुगेको छ । मन्त्रालयले केही महिना अघि गरेको प्रहरी महानिरीक्षकको नियुक्ति सर्वाेच्च अदालतले बदर गरेसँगै दबाबमा परेको सरकारले सोमबार नयाँ प्रहरी महानिरीक्षक नियुक्ति गर्नै तयारी गरीरहेको छ ।
अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापाकोबीचमा डिआईजीहरुको कार्यसम्पादन मूल्यांकन फाईलको प्रतिवेदन सहितको तस्वीर बाहिर आएपछि यही पोकोमा भावी महानिरीक्षकको भविष्य जोडिएको भन्दै चर्चा चल्न सुरु गरेको छ ।
नेपाल प्रहरीको महानिरीक्षक आईजीपी बनाउने विषयसँग जोडिएर देखापरेका यावत अफ्टेराहरुका कारण झण्डै एक महिनासम्म बस्न नसकेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षक नियुक्ति गर्ने तयारी गरिरहेको गृहमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ ।
आफूले नियुक्ति दिएको व्यक्तिलाई आईजीपी नबनाउन सर्वोच्च अदालतले आदेश जारी गरेसँगै दबाबमा परेको सरकारले कसलाई प्रहरीप्रमुख बनाउला भन्ने विषयमा नयाँ अड्कलबाजी सुरु भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार नवराज सिलवाललाई नै सरकारले प्रहरी प्रमुख बनाउने अनेक अड्कलबाजी चलिरहँदा सोमबारको मन्त्रिपरिषद्को बैठकले नतिजा भने फरक दिने सम्भावना देखिएको छ ।
प्रधानमन्त्री निकट तथा गृहमन्त्री निकट स्रोतका अनुसार इतिहासमा नै पहिलो पटक डिआईजीहरुको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन मन्त्रिपरिषद्को बैठकमा नै खोल्ने र त्यसैको आधारमा नयाँ प्रहरी प्रमुख नियुक्ति गर्ने तयारी सरकारको छ । यस अघि त्यस्तो निर्णय गर्दा बढुवा समितिको सिफारिसलाई आधार मानेर मन्त्रिपरिषद्ले निर्णय मात्रै गर्ने गरिएको भएपनि अहिले भने धेरै झमेला सिर्जना भएकोले मन्त्रिपरिषद्मा नै त्यो प्रतिवेदन खोलेर अदालतको आदेश अनुसार वरिष्ठलाई महानिरीक्षक नियुक्त गर्ने तयारी भईरहेको हो ।
प्रहरीको कार्यसम्पादन गर्ने अधिकारीहरुका अनुसार तीन जना डिआईजीहरुमध्ये अहिले नवराज सिलवाल र जयबहादुर चन्द भन्दा पनि प्रकाश अर्याल कार्यसम्पादन मुल्यांकनमा अंक राम्रो रहेको छ । त्यसैले मन्त्रिपरिषद्ले उनलाई नै प्रहरी महानिरीक्षक नियुक्त गर्न सक्ने सम्भावना बढी रहेको स्रोतको दाबी छ ।