काँग्रेस महामन्त्रीको स्पष्टीकरण, 'अदालतको गरिमा कायम राख्छु'
प्रकाशित २०७३ चैत २७ आइतबार
2.4k
Shares
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले न्यायालयको बारेमा आफूले दिएको अभिव्यक्तिको स्पष्टीकरण दिएका छन् । सोमबार विज्ञप्ती जारी गर्दै महामन्त्री कोइरालाले आफू अदालतको गरिमाप्रति सधैं सकारात्मक र संवेदनशील रहेको भन्दै आगामी दिनमा हुने यस सम्बन्धी कुनै पनि टिप्पणी न्यायालयको उच्चतम गरिमालाई केन्द्रमा राखेर र लोकतन्त्रको मूल्यलाई ध्यान दिएरमात्रै गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
महामन्त्री कोइरालाद्वारा जारी विज्ञप्तीमा स्थापनाकालदेखि नै नेपाली कांग्रेसले लोकतन्त्रको विश्वव्यापी मूल्य, मान्यताका प्रति विश्वास राख्दै आएको बताउँदै संसदीय शासन प्रणाली, स्वतन्त्र न्यायालय, प्रेस स्वतन्त्रता र मानव अधिकार जस्ता मूल्यका प्रति बाल्यकालदेखि नै अभिप्रेरित र व्यक्तिगत रुपमा पनि अविचलित ढंगले प्रतिवद्ध रहेको उल्लेख गरिएको छ।
महामन्त्री कोइरालाले शक्ति पृथकीकरणको सिद्धान्त बमोजिम नेपालको संविधानले निर्धारित गरेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार र कर्तव्यप्रति आफू उत्तिकै सचेत रहेको बताउँदै कार्यपालिकाको क्षेत्राधिकारबारे आफूलार्इ जति जानकारी छ उत्तिकै न्यायालयको उच्चतम गरिमालाई कदर गर्नु पर्ने दायित्व प्रति पनि संवेदनशील रहेको स्पष्ट पारेका छन् ।
विराटनगर विमानस्थलमा शनिबार संचारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको आ–आफ्नो काम हुने भन्दै एकले अर्काको काममा हस्तक्षेप गर्न नमिल्ने धारणा राखेका थिए । उनले न्यायपालिकाले कार्यपालिकाको काममा हस्तक्षेप गर्नु राम्रो नभएको बताएका थिए ।