भोजपुर । सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि अहिले स्थानीय स्तरमा चुनावी चहलपहल सुरु भएको छ । स्थानीय तहको नेतृत्वका लागि प्रभावशाली व्यक्तिहरुनै टिकटका लागि दौडधुपमा लागेका छन् । उमेद्वारका आकांक्षीहरुले कार्यकर्तासँग भोट माग्ने अभियान चलाउन थालेका छन् ।
सात गाउँपालिका र दुइवटा नगरपालिका रहेको भोजपुरमा स्थानीय सरकारको प्रमुख बन्न स्थानीय स्तरका नेताहरू लागिपरेका छन् । विभिन्न पार्टीबाट आफूले टिकट पाउनुपर्ने दावी गर्न थालेका छन् । त्यो मध्येको नेपाली कांग्रेसको एकछत्र रहेको भनेर चिनिने अरुण गाउँपालिकाको प्रमुख बन्न स्थानीय स्तरका प्रभावशाली नेताहरुबीच प्रतिस्पर्धा सुरु भएको छ ।
त्यसका लागि गजेन्द्र कार्की र शालीकराम खत्रीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । यि दुई मध्येबाट एकले टिकट पाउने कांग्रेस स्रोतले जनाएको छ । स्थानीय स्तरमा कहलिएका प्याउलीका स्थानीय बासिन्दा कार्की अहिले भोजपुर जिल्ला अस्पताल विकास समितिका अध्यक्ष हुन् भने याङपाङ घर भएका खत्री कांग्रेसका जिल्ला स्तरीय नेता हुन् ।
यी तीन प्रतिस्पर्धी मध्येबाट एक जनालाई अघि सार्ने कांग्रेसको तयारी छ । याङपाङ , चम्पे, प्याउली , चरम्बी ,याकु र जरायोटार गाविस गाभेर निर्माण गरिएको अरुण गाउँपालिकामा ७ वटा वडा कार्यलय स्थापना भई उद्घाटन समेत भइसकेको छ ।