विदेशी पीआर लिएर लामो समयदेखि अनुपस्थित कर्मचारीसँग स्पष्टीकरण माग
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ११ सोमबार
214
Shares
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।
मन्त्रालयले एक सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेका उनीहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको हो। स्पष्टीकरण मागिएका दुवै कर्मचारी नापी अधिकृत रहेका छन्।
मन्त्रालयले उनीहरूलाई यसअघि सफाइ पेस गर्न १५ दिनको म्याद दिएको थियो। तर उक्त अवधिभित्र उनीहरूले पेस गरेको सफाइ सन्तोषजनक नदेखिएकोले निजामती सेवा ऐन, २०४९ बमोजिम भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएकाले दोस्रो पटक ३० दिनको म्याद थप गरी स्पष्टीकरण सोधिएको छ।
निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा सोका लागि आवेदन दिनसमेत कानुनतः प्रतिबन्धित छ। स्वीकृत बिदा समाप्त भएपछि ३० दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्ने कानुनी प्रावधान भए पनि उनीहरू लामो समयदेखि सम्पर्कविहीन भई विदेशमा बसोबास गर्दै आएका र निजामती सेवा ऐनविपरीतको कार्य गरेकाले ३० दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेस गर्न निर्देशन दिइएको छ।
यसैबीच मन्त्रालयले कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ।