सुरुङमार्ग उद्घाटनले नेपालको यातायातमा नयाँ युगको थालनी: जाइका अध्यक्ष तानाका
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ११ सोमबार
229
Shares
काठमाडौं । नेपालकै पहिलो आधुनिक यातायात सुरुङमार्गको रूपमा निर्माण गरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटनसँगै मुलुकको सडक यातायात क्षेत्रमा नयाँ युगको शुरूआत भएको छ।
सोमवार आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोले यस आयोजनालाई नेपाल र जापानबीचको प्रगाढ सम्बन्ध र सहयोगको एक महत्वपूर्ण उपलब्धिको रूपमा वर्णन गर्नुभएको छ। यस सुरुङमार्गको सञ्चालनले नागढुङ्गा खण्ड पार गर्न लाग्ने यात्रा समय अब ५ देखि ७ मिनेटमा सीमित भएको छ भने यसले सवारी चाप न्यूनीकरण, सडक सुरक्षामा सुधार तथा यातायात दक्षता अभिवृद्धि गरी नागरिकको दैनिक जनजीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
दुई वर्षअघि भएको कीर्तिमानी वर्षा र त्यसले निम्त्याएको अवरोधका बेला निर्माणकै चरणमा रहेको यस करिडोरले आपत्कालीन सम्पर्क मार्गको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै संकटका समयमा भरपर्दो पूर्वाधारको महत्वलाई पुष्टि गरेको अध्यक्ष तानाकाले उल्लेख गर्नुभयो। हिमालय क्षेत्रको कठिन भू–गर्भीय बनावटका कारण निर्माणका क्रममा बारम्बार आएका पहिरो, चट्टानको विरूपण र जमिनको तीव्र दबाबजस्ता समस्याहरूलाई जापानी प्रविधि र नेपाली जनशक्तिको सहकार्यमा समाधान गरिएको थियो। यस आयोजनामा ९८ प्रतिशत नेपाली इन्जिनियर र कामदारहरूले सहभागिता जनाएर सीप हस्तान्तरणको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्।
नेपाल र जापानबीचको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठको अवसरमा सम्पन्न यस आयोजनाले दुई देशबीचको आपसी विश्वासलाई नयाँ उचाइमा पुर्याएको छ। यसै सफलतालाई आधार मानेर आगामी दिनमा सुरुङमार्गको योजना, निर्माण, सञ्चालन र मर्मतसम्भारमा नेपालको क्षमता अभिवृद्धि गर्न नयाँ प्राविधिक सहयोग कार्यक्रमसमेत सुरु हुने भएको छ। जाइकाले नेपालको दिगो विकासका लागि भरपर्दो साझेदारको रूपमा आगामी दिनमा पनि सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएको छ।